बरेङमा कभर्ड हल निर्माण अन्तिम चरणमा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, साउन ८ २០७७

बागलुङको बरेङ गाउँपालिकामा कभर्ड हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ७५ प्रतिशतभन्दा बढि काम सम्पन्न भएको बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
कभर्डहल नहुँदा खुल्ला मैदानमा खेल खेल्न बाध्य खेलाडीहरु कभर्डहल निर्माणसँगै ब्याडमिन्टन (इन्डोर गेम) लगायतका खेलहरु कभर्डहल भित्रै हुने ब्याडमिन्टन संघका अध्यक्ष मिनबहादुर पुनले बताउनुभयो । यसले खेल बिकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष पुनको भनाई छ ।
कभर्ड हल निर्माणको लागि बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख, ०७५/०७६ मा ७ लाख, ०७६/०७७ मा १८ लाख रुपैंया गरि ३२ लाख रुपैयाँ खर्चेको छ भने करिब ५ लाख रुपैयाँको जनश्रमदान रहेको छ ।
बरेङ ब्याडमिन्टन संघका वरिष्ठ खेलाडी अशोक पुनले बरेङ क्षेत्रबाट उत्पादन भएका खेलाडीहरु क्षेत्रीय स्तरसम्म समावेश भई विभिन्न उपलब्धी हासिल गरेको बताउनुभयो ।
कभर्ड हल निर्माणसँगै खलाडीहरुलाई थप हौसला मिलेको र राष्ट्रिय तहको उपाधी हाँसिल गर्नका निम्ती प्रशिक्षण लगायतका क्रियाकलप सञ्चालन गर्न सहज हुने उहाँको भनाई रहेको छ ।
पालिकाले बाँकी काम सम्पन्न गर्नको लागि आर्थिक वर्ष २०७७/०७८ को लागि ७ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।