लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बिहिबार, साउन १७ २០८१

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । लामो समय निर्माण व्यवसायको क्षेत्रमा सक्रिय आचार्य कोरोना महामारी फैलिएपछि सरकारले देशभर लकडाउन गर्यो ।
लकडाउनपछि घरमा थुनिएका आचार्यलाई सामाजिक संजालमा देखेको ड्रागन फ्रुट खेतीबारे रुची जाग्न थाल्यो । कोरोनाले पूर्वाधार निर्माणको काम ठप्प प्रायः बनेपछि आचार्यको मन ड्रागन खेतीतर्फ मोडियो ।
विकास निर्माणका ठेक्कापट्टामा संलग्न युवा व्यवसायी आचार्यको दिनचर्या आजभोलि निकै व्यस्त छ । दिउँसो प्रायः कार्यक्षेत्रमै पुग्ने आचार्य साँझ–बिहान भने घरआँगनमै फैलिएको ड्रागन फ्रुट बगैंचाको स्याहारसुसारमा व्यस्त देखिनुहुन्छ ।
बागलुङ नगरपालिका वडा नं. १ बोटेगाउँमा रहेको करिब ७ रोपनी जमिनमा विगत केही वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ ।
निर्माणको काम गरेर बाँकी समय त्यहीं ड्रागनको बगानको हेरचाहमा भेटिनुहुने आचार्यले सफल व्यवसायीका रूपमा आफूलाई परिचित गराउनुभएको छ ।
बागलुङमै पहिलोपटक व्यावसायिक ड्रागन खेती सुरु गर्नुभएका बिमलेशको बगानले जो–कोहीलाई लोभ्याउँछ । उहाँको बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका पाँच सय ओटा ड्रागनका बोट छन् । ती सबै बोटले उत्पादन दिन थालेपछि राम्रो आम्दानी समेत हुने थालेको आचार्य बताउनुहुन्छ ।
युवटुव हेरेर ख्यालख्यालमा तीनचार ओटा बोटबाट शुरु भएको ड्रागन फुडको खेती अहिले ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । बोटेले उत्पादन राम्रो दिन थालेपछि खाली रहेको जमिनमा आचार्यले थप पाँच सय बोट विस्तार गरेको गर्नुभएको छ । अहिलेसम्म ३० देखि ३५ लाख रुपैयाँसम्म ड्रागन खेती विस्तारमा आचार्यले लगानी गर्नुभएको छ ।
स्वास्थ्यका लागि समेत उपयुक्त मानिने ड्रागन फ्रुट बिक्रीका लागि बजारको कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । ड्रागन खेतीबारे प्रचार प्रसार भएपछि उपभोक्ताहरुले घरमै पुगेर खरिद गर्न थालेपछि आचार्य दंग हुनुहुन्छ ।

पुरा भिडियो हेर्नुहोस् ।