कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असार ५ २០७७

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनासंग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
भर्चुअल संवादमा नगर प्रमुख जनकराज पौडेलले प्राथमिकताका क्षेत्र र आधारहरु प्रस्तुत गरेपछि बिज्ञ तथा सर्वसाधारणले आफ्नो धारणा राख्दै उत्पादन बढाउने र रोजगारी सिर्जनासँग जोडिएका कार्यक्रमलाई प्राथमिता दिन सुझाव दिएका थिए ।
उनीहरुले पनि सडक र भवनमा गरिने खर्चको बिषयमा चासो राख्दै ठुला योजना सञ्चालन गर्ने र ती योजनासँग सर्वसाधारणको आर्थिक उन्नतीलाई जोड्न सुझाव दिए ।
छलफलमा सहभागी प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कोरोना महामारी पछिको अवस्थालाई सामान्यकरण गर्न उत्पादनमा जोड दिनुको विकल्प नरहेको तर्क गर्दै त्यसका लागि नीति तथा कार्यक्रमले स्पष्ट व्यवस्था गर्नुपर्ने उल्लखे गर्नुभयो ।
कानुन व्यवसायी तथा मानवअधिकारकर्मी राम शर्माले स्थानीय सरकारको खर्च कटौती गर्ने र निशुल्क पाईने सल्लाहलाई उपयोग गर्न कटाक्षपूर्ण सुझाव दिँदै पारदर्शिता र कामको गतिलाई बढाउन सुझाव दिनुभयो ।
छलफलमा सहभागी अधिकांशले स्थानीय सरकारले योजना बनाउँदा र बजेट ल्याउँदा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने आवश्यकता औल्याएका थिए । पूर्वाधार निर्माणको काम गर्दा दिर्घकालिन महत्वका योजना सञ्चालन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
नगर प्रमुख जनकराज पौडेलले उपयुक्त सुझावहरुकै आधारमा नीति कार्यक्रम र बजेट तयार गरिनेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभएको थियो ।
पत्रकार महासंघ बागलुङ शाखा र धौलागिरी पर्यटन विकास केन्द्रले चलाएको भर्चुअल संवादमा सञ्चारकर्मी, अर्थतन्त्रका जानकार तथा बिज्ञ र सर्वसाधारण सहभागी थिए ।