म्याग्दीको बेनी सदरमुकाम स्थानान्तरण गर्न मन्त्री महाविर पुनको प्रस्ताव

/ प्रकाशित मिति :
शनिबार, कार्तिक १ २០८३

 

बागलुङ, ३१ असोज – सम्भावित जोखिम लाई न्युनिकरण गर्न विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राख्नुुभएको हो ।

जोखिमयुक्त ठाउँको जतिसुुकै संरक्षण गरे पनि प्राकृतिक विपद्लाई छेक्न नसक्ने भएकाले विकल्प सोच्नुपनमा मन्त्री पुनले जोड दिनुभयो ।

यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटाल क्षेत्रमा निर्माण भएको पक्की तटबन्ध भत्काएको र बेनीको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विपद्को क्षतिको विषयमा जानकारी गराउँदै नदी र पहिरो नियन्त्रण गरि सदरमुकामलाई सुरक्षित बनाउन प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राख्नुभएको थियो ।

नदीले भिक्ता कटान गरेको र भूवर्गविद्हरूले पनि जोखिमको सङ्केत गरेकोले “सदरमुकामको बस्ती सुरक्षित गर्नका लागि मानसिक र भौतिक रूपमा रोकथाम गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसको लागि माथिल्लो सरकारसँग बजेटको अपेक्षा राखेको बताउनुभयो ।

मन्त्री पुनले सरकारले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी बेसिनमा बाढीपहिरोले क्षति पु¥याएको निजी आवास र भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत काम अघि बढाएकाले तथ्याङ्क सङ्कलन र समन्वय गर्न आग्रह गर्नुभयो ।

बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले प्रदेश तहबाट हुने सहयोगका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै स्पष्ट कार्ययोजना बनाएर बर्खाअघि नै काम सम्पन्न हुने गरी स्रोत परिचालनमा सङ्घीय सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्को समयमा भएका पुर्वतयारी, राहत, उद्दारका कामको बारेमा जानकारी गराउदै अब पुनःनिर्माण र पुनःस्थापनामा जुट्नका लागि बजेटनै प्रमुख चुनौति बनेको बताउनुभयो ।

छलफलमा म्याग्दीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधि र कार्यालय प्रमुखले भएका गतिविधि र भावी योजनाका विषयमा आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो ।