बागलुङ महोत्सवमा जारी पुरुष भलिबल प्रतियोगितामा गल्कोट र समिट होटल भिड्दै

/ प्रकाशित मिति :
सोमबार, पुष २१ २០८२

बागलुङ, २१ पुष – बागलुङको गल्कोट नगरपालिका र समिट होटल धौलागिरि आठौँ बागलुङ महोत्सव २०८२ को मुख्य आकर्षणको रुपमा रहेको गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तरगत आइतवार भएको सेमिफाइनल खेलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै बागलुङको गल्कोट नगरपालिका र समिट होटल फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा मेरो डेन्टल होमलाई पराजित गर्दै समिट होटल र दोस्रो खेलमा कुश्मा नगरपालिकालाई पराजित गर्दै गल्कोट नगरपालिका फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री ध्रुबले जानकारी दिनुभयो ।

सोमवार तेस्रो स्थानका लागि मेरो डेन्टल होम र कुश्मा नगरपालिका तथा उपाधिका लागि गल्कोट नगरपालिका र समिट होटलका बिचमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । पुरुष भलिवल तर्फ प्रथम हुने टिमले नगद २ लाख १ हजार ५ सय, द्धितीय हुने समुहले १ लाख २१ हजार ५ सय र तृतीय हुने समुहले नगद ४४ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पुरुष भलिवल प्रतियोगिताका संयोजक क्षेत्रीले बताउनुभयो ।

यसैगरि सान्त्वना हुने टिमले नगद २२ हजार ५ सय, बिद्यागत तर्फ उत्कृष्ठ खेलाडिले नगद १० हजार, अन्य बिद्यागत तर्फ उत्कृष्ट हुने खेलाडिले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । बागलुङ महोत्सवको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा विभिन्न १४ समुहले भाग लिएका थिए ।