फुटबल संघको सहयोगमा बागलुङका १९ फुटबल खेलाडीलाई राहत वितरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, साउन ८ २០७७

अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले खेलाडीका लागि राहत बितरण गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा संघले जिल्ला लिग खेलेका तथा अफिसियल खेलाडीलाई ४ हजारका दरले नगद राहत दिएको हो । जिल्लामा रहेका १९ जना फुटबल खेलाडी राहतका लागि छनौटमा परेका थिए ।
खेल संचालन नभएको, आम्दानीका श्रोत ठप्प भएको र सामान्य दैनिकी गुजारा गर्न पनि नसकेको खेलाडीलाई राहत स्वरुप नगद दिइएको संघका जिल्ला अध्यक्ष रामराज गुरुङले बताउनुभयो ।
राहत हस्तान्तरण गर्दै प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले हरेक क्षेत्रबाट सुन्दर भबिष्य खोज्ने अबसरमा खेलक्षेत्र पनि अगाडि बढेको बताउनुभयो । उहाँले कोभिड १९ को प्रभावले पछि परेपनि पूर्वाधार निर्माण र खेललाई व्यवसायिक बनाउने प्रक्रियामा राज्यको लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले मंतव्य व्यक्त गर्नु भएको थियो । संघका अध्यक्ष गुरुङको अध्यक्षता, उपाध्यक्ष टकबहादुर बोहोराको स्वागत र रेशम गोतामेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राहत पाउनेमा चार जना महिला फुटबल खेलाडी पनि रहेका छन् । कोरोनाका कारण गरिएको लकडाउन खुलेपनि आर्थिक स्थिति सुधार आउन समय लाग्ने भएपछि राहतको प्याकेज ल्याइएको बताइएको छ ।