२ सय ७ औ भानुजयन्ती बागलुङमा पनि मनाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, असार ३០ २០७७

आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २०७ औं भानु जयन्ती बागलुङमा पनि मनाइएको छ । धौलागिरी साहित्य प्रतिष्ठानको आयोजनामा भानु जयन्ती मनाएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भाषाको एकीकरण भानुभक्तबाट भएकोले उनको सम्मान हुने गतिविधिमा सबैको चासो र चिन्तन हुनुपर्ने बताउनुभयो ।
उहाँले भानुभक्तलाई पनि शिक्षा दिएका मुलपानीका बीरशाली पन्तको स्मृतिमा प्रतिष्ठान गठन गर्ने र कार्यक्रम गर्ने समूह तयार भएमा नगरपालिकाले लगानीसमेत गर्न सक्ने प्रतिवद्वता जनाउनुभयो ।
भानुभक्त आचार्यले पन्तसँग भाषा पढेको भन्ने किंबदन्ती छ । कतिपय बिद्वानले उक्त कुरा प्रमाणित भएको तथ्य पनि अगाडि सारेका छन् ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्यामपसमा उपप्राध्यापक हरिप्रसाद पाण्डेयले भानुभक्तका तत्कालिन कृतिले नेपालको बर्तमान परिवेशलाई अझै दर्शाएको चर्चा गर्नुभयो । रामायणमार्फत आदर्श पुरुषको उदाहरण प्रस्तुत गरेको भन्दै उहाँले बधुशिक्षाले नागरिकको कर्तव्य प्रस्तुत गरेको बताउनुभयो ।
धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापाको संचालन र कोपिला कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बिद्यामन्दिर माबिका पूर्व प्रअ जनन्नाथ आचार्य, मुलपानी माबिका पूर्व प्रअ मेघराज पाण्डेले बोल्नु भएको थियो ।
यसअघिका भानु जयन्तीमा भानु चित्रलेखन, लगायतका क्रियाकलाप गरिदै आएकोमा कोरोना संक्रमणको कठिन परिस्थिति भएकोले सामान्य स्मरणको कार्यक्रम मात्र गरिएको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।