गलकोटमा सभागृह शिलान्यास

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असार ७ २០७७

बागलुङको गलकोट नगरपालिका नगरपालिका वडा नम्बर ७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभागृह’ बन्ने भएको छ । एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गर्नुभयो ।
सो अवसरमा उपप्रमुख काउचाले सभाहल निर्माणमा नगरपालिकाले यथोचित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरको आवश्यकताको रुपमा रहेको सभागृहले यस क्षेत्रमा गरिने कार्यक्रमको लागि ठूलो टेवा पुग्ने बताउनुभयो ।
एक सय ५० जना अट्ने क्षमताको सभाहल आगामी दुई वर्षभित्र बनाइसक्ने योजना रहेको निर्माण समितिका अध्यक्ष थम्मन थापाले बताउनुभयो । सभाहलका लागि गण्डकी प्रदेशको भौतिक मन्त्रालयले चालु आवमा १५ लाख बजेट विनियोजन गरेको र घुम्टे युवा परिवार जापान शाखाले ६ लाख उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
सभाहल निर्माणका लागि वडासदस्य लोकबहादुर थापा, समाजसेवी हरिदत्त गौतम, राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष दलबहादुर थापा, स्थानीयवासी भक्तबहादुर थापा, कमला थापा र प्रकाश थापाले झण्डै तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।