बेनी बजारमा रहेको खुल्लामञ्चलाई रंगशाला बनाउन पूर्वाधार निर्माणको कार्य गरिदै

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, जेष्ठ २४ २០७७

म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा रहेको खुलामञ्चलाई रंगशाला बनाउने लक्ष्यसहित पूर्वाधार निर्माणको कामलाई तिब्रता दिईएको छ ।
बेनी क्षेत्रमा हुने खेलकुद प्रतियोगिताहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खुलामञ्चमा प्याराफिट निर्माण, खेलमैदान विस्तार गरि रंगशालाको रुपमा विकास गर्न लागिएको हो ।
चालु आर्थिक बर्षमा मात्रै करिब २ करोड बजेटबाट पूर्वाधार निर्माण थालिएको छ । बेनी नगरपालिका र जिल्ला खेलकुद विकास समितिबाट तयार गरिएको गुरुयोजना अनुसार खुल्लामञ्चलाई रंगशाला बनाउन पूर्वाधार निर्माणको कामलाई अघि बढाईएको बेनी नगरपालिकाले जनाएको छ ।
यसबर्ष बेनी नगरपालिका वडा नम्बर ७ को सिफारिसमा नगरपालिकाबाट विनियोजन भएको ९ लाख बजेटबाट प्याराफिट निर्माण थालिएको छ ।
संघिय सरकारमार्फत प्राप्त १ करोड र प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापामार्फत पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्र्ततगको ५० लाख गरि १ करोड ५० लाखको लागतमा पूर्वाधार निर्माण सुरु भएको छ ।
यो बजेटबाट पर्खाल निर्माण, प्यराफिट विस्तार र खेलमैदान विस्तार लगायतका कार्यहरु अघि बढेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका निवर्तमान अध्यक्ष तथा नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
विकका अनुसार, चालु आर्थिक बर्षकै लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ४० लाख बजेटसमेत जिल्ला खेलकुद विकास समितिमार्फत कार्यान्वयन गर्ने तयारी भैरहेको छ । गुरुयोजना अनुसार, खुलामञ्चको चारैतर्फ प्याराफिट र आकर्षक स्टेज निर्माणसहित खेलमैदानमा दुबो रोप्ने योजना छ ।