दोस्रो मेयर कपः म्याग्दी र चौदण्डीगढी सेमिफाइनलमा प्रवेश

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, माघ २០ २០७६

बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा बेनी नगरपालिका म्याग्दी र चौदण्डीगढी नगरपालिका उदयपुर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आईतबार पहिलो खेलमा बेनी नगरपालिका म्याग्दीले पोखरा महानगरपालिकालाई टाइब्रेकरमा ६–५ गोलअन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो ।
निर्धारित समयमा दुवै टिमबाट २–२ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५–५ बराबरी भएपछि खेल सडनडेथमा बेनीले १–० ले जित हातपार्यो ।
निर्धारित समयमा बेनीको लागि खेलको २४ औं मिनेटमा निसान गुरुङले गोल गरे । यस्तै ४६ औं मिनेटमा सन्तोष पुनले पेनाल्टी गोल गरेभने पोखराको लागि ढानेन्द्र क्षेत्रीको १ आत्माघाति उपहार गोल र ६७ औं मिनेटमा गंगा गुरुङले गोल गर्दै खेल २–२ को अवस्थामा पुगेको थियो ।
यस्तै आजै भएको दोस्रो खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरले बागलुङको जैमिनी नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।


पहिलो हाफमा १ गोलले पछि परेको चौदण्डीगढीले दोस्रो हाफमा सरद पुनको २ गोलको मद्धतमा जित हात पार्यो । जैमिनीको लागि खेलको १९ औं मिनेटमा महेश लामाले गोल गरे । यस्तै चौदण्डीगढीको लागि सरद राईले ३६ औं मिनेट र ५१ औं मिनेटमा पेनाल्टी गोल गर्दै जित निकाले ।
५१ औं मिनेटमा जैमिनीका संजिव अर्यालले गोललाईनमा बललाई हातले बाहिर निकालेपछि रेडकार्ड खाएका थिए । यस्तै ५६ औं मिनेटमा मनोज राईले दोहोरो पहेलो कार्ड सहित रेडकार्ड खाँदै बाहिरिएसँगै जैमिनी ९ खेलाडीमा सिमित बनेको थियो ।
प्रतियोगितामा सोमबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल बागलुङ नगरपालिका विरुद्ध भीमाद नगरपालिका तनहुँ र दोस्रो सेमिफाइनल बेनी नगरपालिका म्याग्दी विरुद्ध चौदण्डीगढी नगरपालिका उदयपुर विच हुनेछ ।