मेयर कपः बागलुङ नगरपालिका पहिलो खेलमा विजयी

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १७ २០७६

बागलुङमा बिहिबारदेखि सुरु भएको दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बागलुङले कुश्मा नगरपालिका पर्वतलाई टाइबेकर (पेनाल्टी सुटआउन) मा ३–० गोलअन्तरले पर्वतलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइबेकरबाट गरिएको थियो । टाइबेकरमा बागलुङका अविशेष बोहोरा, निशान थापा र किरण गुरुङले गोल गरेका थिए भने । पर्वतको तीन प्रहार बाहिरिएको थियो ।


पर्वतका आशिष गुरुङ र गणेश गुरुङले गोल पोष्ट बाहिर प्रहार गरे भने विजयी रानाको प्रहार बागलुङका गोलरक्षक सौगात खड्काले विफल पारिदिए । खेलको पहिलो हाफमा कुश्माले बागलुङलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन् । कुश्माका खेलाडीले बागलुङका गोल रक्षक सौगात अगाडी बढेको अवस्थामा प्रहार गरेको बल उनले पछाडी गएर मुश्कीलले बचाएका थिए ।
पहिलो हाफमा दबाबका विच खेलेको बागलुङले दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा पाएका सुनौलो अवसरहरु गोलमा परिणत गर्न नसक्दा खेल टाइबेकरमा पुग्यो । खेलको अन्तिम समयमा बागलुङका आशिष केसीले प्रहार गरेको फ्रिकिक गोलबारमा लागेको थियो । रिवाउन बललाई रोशन लामिछानेले प्रहार गरेका थिए उक्त प्रहार कुश्माका गोलरक्षकले विफल पारिदिएका थिए ।
खेलको म्यानअफदी म्याच बागलुङका गोलरक्षक सौगात खड्का चुनिए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) बेनी नगरपालिका म्याग्दी र गल्कोट नगरपालिका बागलुङका विच खेल हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक सुर्य लामिछानेले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको समन्वयमा संचालित प्रतियोगितामा १० ओटा नगरपालिकाहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सुर्य पाठकले सरकारले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलकुदले देशलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने बताउँदै जिल्ला स्तरमा हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, संविधानसभा सदस्य प्रकाश पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी बागलुङका अध्यक्ष धनबहादुर परियार, नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्र थापा र राप्रपा गण्डकी प्रदेश सदस्य रणबहादुर बोहोराले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको स्वागत उपप्रमुख सुरेन्द्र खड्का र संचालन पत्रकार राम अविरल र रविना बोहोराले गर्नुभएको थियो ।