दोस्रो बागलुङ मेयरकप मा १० टिमको नाम दर्ता

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ १४ २០७६

दोस्रो बागलुङ मेयरकप अन्तर नगरपालिका स्तरीय खुल्ला राष्ट्रिय फुटबल प्रतियोगीतामा सोमबारसम्म दश समूहले नाम दर्ता गरेका छन् ।
माघ १६ गतेदेखि आयोजित प्रतियोगीतामा धौलागिरीका ६ सहित दश समूहले नाम दर्ता गरेका हुन ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको संयोजनमा आयोजित प्रतियोगितामा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका बागलुङ, कुश्मा नगरपालिका पर्वत, बेनी नगरपालिका म्याग्दी, ढोरपाटन नगरपालिका बागलुङ र गल्कोट नगरपालिका बागलुङले नाम दर्ता गरेको जिल्ला फुटबल संघका कोषाध्यक्ष तथा प्रचार संयोजक सूर्य लामिछानेले जानकारी दिनुभयो ।
यस्तै साविक विजेता वालिङ नगरपालिका स्याङ्जा, उपविजेता पोखरा उपमहानगरपालिका कास्की, चौडण्डी नगरपालिका उदयपुर र तुलसीपुर उपमहानगरपालिका दाङले पनि नाम दर्ता गराएको सुर्य लामिछानेले जानकारी दिनुभयो ।
सोमबारसम्म १० फाइनल भएको र मंगलबारसम्म टिम दर्ताको समय रहेकाले अझै ४÷५ टिम सहभागि हुन सक्ने बताउनुभयो । यसैविच प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण काम सम्पन्न भएको जनाएको छ ।
प्रतियोगीता संचालन हुने बाङ्गेचौर खेल मैदानमा रंगरोगन, नाली निर्माण, खानेपानी व्यवस्थापन तथा ट्वाईलेट बाथरुम मर्मत, प्रचारप्रसार, पुरस्कार व्यवस्थापन गरिएको संयोजक लामिछानेले जानकारी दिनुभयो । उहाँले मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
प्रतियोगितामा देशभरका नगरपालिकाहरु र उपमहानगरपालिकाहरुले भाग लिन पाउने र स्थानियतहको सिफारिसमा राष्ट्रिय खेलाडीहरु पनि समावेश हुन पाउने प्रावधान राखिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
नगरपालिकाले राष्ट्रिय दिवसको दिनमा कार्यक्रम गर्ने सोचका साथ शहिद दिवसको दिनमा मेयरकप आयोजना गरेर यसलाई नियमित दिदै अगाडी बढ्ने पौडेलले बताउनुभयो ।
प्रतियोगिता संचालनको लागि नगरपालिकाले २१ लख ९६ हजार १ सय १० रुपैयाँ लागतको अनुमान गरिएको छ । प्रतियोगितामा १२ देखि २० टिमसम्मले सहभागिता जनाउने अपेक्षा लिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता खुल्ला गरिएपछि यस वर्ष पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरा उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।