चौथो गरिमा च्याम्पियनसिप क्रिकेटको उपाधि फ्युचरलाई

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २३ २០७६

चौथो गरिमा च्याम्पियनसिप अन्तरविद्यालय स्तरीय छात्र क्रिकेटको उपाधि फ्युचर ब्राइटर आवासिय माविले जितेको छ ।
आईतबार भएको फाइनल खेलमा आयोजक डिग्नीटी कलेज ‘ए’लाई ८ विकेटले पराजित गर्दै फ्युचरले उपाधी सुरक्षित गरेको हो ।
१ सय १६ रनको विजय लक्ष्य पक्ष्याएको फ्युचरले ११ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । फ्युचरको जितको लागि ओपनर रमेश बस्नेतले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । बस्नेतले ३२ बलमा ५ छक्का र ५ चौकाको मद्धतमा ६२ रन बनाए । फ्युचरको लागि कप्तान दिपक कुँवरले ४८ रन बनाएका थिए ।
डिग्नीटीका राजु थापाले १ विकेट हात पारे । पहिले व्याटिङ गरेको डिग्नीटीले कप्तान विजय वि.क.को अविजित अर्धशतकीय पारीको मद्धतले १५ ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । कप्तान वि.क.ले ४४ बलमा ७ चौका र ४ छक्काको मद्धतमा ६२ रन बनाएका थिए । डिग्नीटीको लागि पासिङ पुनले २८ रन बनाएका थिए ।
फ्युचरको लागि सन्देश खड्काले २ र विश्व कार्कीले १ विकेट लिएका थिए । विजेता फ्युचरले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता डिग्नीटीले २२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो । विजेता टिमहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।