इतिहास रच्नबाट चुक्यो नेपाली महिला भलिबल टोली !

पुरुष फुटबलमा नेपाल विजयी
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर १८ २០७६

दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टिम फाइनलमा भारतसँग ३–२ सेटले पराजित भएको छ ।
पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलो पटक स्वर्ण जित्ने अवसर गुमाएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको प्रतिस्पर्धामा नेपालले भारतविरुद्ध चार सेटमा राम्रो खेलेपनि अन्तिम सेटमा खराब खेल्यो । यसअघि तीन संस्करणमा कास्य जितेको नेपाली महिला भलिबलले पहिलो सेट भने २५–१७ ले गुमाउन पुगेको थियो ।
सुरुको दुई वटा प्वाइन्ट जितेको नेपाल एक समय सात÷सातको अवस्थामा थियो । तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै १३–८ को अग्रता बनायो । समूह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल १६–११ ले पछि परेको थियो ।
त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमै राख्यो । जसका कारण भारत २३–१६ ले अगाडि रह्यो । अन्ततः भारत पहिलो सेटमा २५–१७ ले विजयी भयो ।
यसैगरि तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरे । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो ।
खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गरेका थिए । खेलको ५१ औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि नेपालका लागि ६६ औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८ औँ मिनेटमा मिक्छेनले चौथो गोल गरेका थिए ।