दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २ २០७६

बागलुङको बडिगाड गाउँपालिकामा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता सुरु भएको छ।
सातै प्रदेशका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगीता दुई दिनसम्म चल्ने छ । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा सुरुभएको प्रतियोगीतामा आईतबार एकल तथा सामुहिक काँटा प्रदर्शन भएको छ ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले देशलाई एकतावद्ध बनाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेपाल कराँते महासघका केन्द्रिय कार्यवाहक अध्यक्ष दाबा गुरुङ, संस्थापक सदस्य राजिव थापा, कराँते संघका केन्द्रिय सदस्य गजेन्द्र खपाङ्गीले बोल्नुभएको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय कवड्डी प्रतियोगीताका विजेता वासु वस्याललाई सम्मान गरिएको थियो । प्रतियोगीतामा सात प्रदेश र एक आयोजक गरी ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको लागि देश भरवाट २ सय १० खेलाडि, १६ जना प्रशिक्षक, अन्तराष्ट्रि १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहेको कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभयो ।
उद्घाटन पूर्व पञ्चैवाजा सहित खेलाडि, प्रशिक्षक सहितको सातै प्रदेशको टोली प्रभातफेरीमा सहभागि भएका थिए । कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २२ लाख ५० हजार विनियोजन गरेको छ ।
सो प्रतियोगीतामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ ।
प्रत्येक सहभागि टिमलाई खान वस्नको व्यवस्था सहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था रहेको खेल संयोजक पाईजाले बताउनुभयो । गत वर्ष विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागि हुन नसकेको बताइएको छ ।