‘क्विक्स कप’ इलाका छनौट फुटबल रिघामा सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, जेष्ठ २१ २០७६

बागलुङको गल्कोट नगरपालिका– ११ रिघामा सोमबारदेखि क्विक्स कप अन्तरस्कुल स्तरीय फुटबलको इलाका छनौट प्रतियोगिता सुरु भएको छ ।
जिल्ला फुटबल संघ बागलुङको आयोजना र रत्नलक्ष्मी मावि, धर्मापोखरी युवा क्लब र रिघा खेलकुद विकास समितिको सह–आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन २ खेल भएका छन् ।
सोमबार भएको उद्घाटन खेलमा रत्नलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ । रत्नलक्ष्मी माविले जनजार्गिती माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
यस्तै दोस्रो खेलमा न्यू लाईफ बोर्डिङ स्कुललाई नवप्रभाव बोर्डिङ स्कुलले २–३ गोलअन्तरले पराजित गरेको इलाका छनौट प्रतियोगिताका खेल संयोजक राजकुमार बोसेलले जानकारी दिनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक क्यालेन्डर अन्तरगतको प्रतियोगिता विगतमा जिल्ला सदरमुकाममा मात्र हुने भएपनि यस वर्ष जिल्लाको पश्चिम भेगको लागि इलाका छनौट सुरु गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।
जिल्लामा मात्र केन्द्रित रहँदा गाउँ–गाउँमा रहेका खेलाडीहरुको प्रतिभामाथि अन्याय भएको अनुभुति भएकाले यस वर्षदेखि गल्कोट भेगको लागि इलाका छनौटका रुपमा स्कुलस्तरीय प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने आशा रहेको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै गल्कोट नगरपालिका–११ रिघाका वडाअध्यक्ष डम्मर बहादुर श्रीसले खेलकुद मार्फत खेलाडीहरुले देशको नाम उचो गराईरहेको बताउनुभयो । उहाँले युवाहरुलाई अनुशासनमा राख्नको लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।
मंगलबार सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको विजेता टिम जेठ २५ गतेदेखि बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुने अन्तरस्कुल स्तरीय क्विक्स कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला फुटबल संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो ।