नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

धौलागिरी एफएम सवाददाता / प्रकाशित मिति :
मंगलबार, असोज २५ २០७९

पोखरामा नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा ट्रफी सार्वजनिक गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सोमबार बिहान राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरिेका हुन् ।

५ किलोग्राम चाँदी र २ तोला सुन प्रयोग गरिएको ट्रफी १० लाख रुपैयाँको लागतमा बनेको हो । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले ट्रफीको डिजाइन गरेका हुन् । ट्रफीको निर्माण चाहिँ श्याम श्रेष्ठले गरेका हुन् ।

तीनपटक च्याम्पियन बन्नेले स्थायी रुपमा ट्रफी राख्न पाउने व्यवस्था गरिएको छ । ट्रफी सार्वजनिक गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले खेलकुदसँग स्वास्थ्य,समृद्धि र कुटनीति जोडिएको बताए । खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

ट्रफीलाई ¥यालीसहित पोखराका विभिन्न ठाउँमा परिक्रमा गराइएको छ भने पोखराका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ । पोखरामा आइतबारदेखि नवौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरु संचालनमा आइसकेका छन् । असोज २८ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्नेछ ।