राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिका लाई

/ प्रकाशित मिति :
मंगलबार, चैत्र ३१ २០७७

बागलुङ, ३१ चैत– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।
बागलुङ नगरपालिकाले २३ स्वर्ण, १६ रजत र ४ कास्यपदक जितेको जिल्ला खेलकुँद विकास समितिका प्रशिक्षक भीमसेन शाक्यले बताए । त्यस्तै, बडिगाड गाउँपालिका १२ स्वर्ण, ६ रजत र १५ कास्य पदकसहित दोश्रो र जैमिनी नगरपालिका ४ स्वर्ण, २ रजत र ९ कास्यसहित तेस्रो भएका छन् ।
आइतवारदेखि सुरु भएको प्रतियोगितामा आर्कषण मनिएको छात्र भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका विजेता बनेको छ । अन्तयन्तै रोमाञ्चक खेलमा काठेखोलाले तमानखोला गाउँपालिकालाई पराजित गरेको हो ।
महिला भलिबल तर्फको उपाधि ढोरपाटन नगरपालिकाले जितेको छ । गलकोट नगरपालिका दोश्रो र निसीखोला गाउँपालिका तेस्रो भएका छन् । सोमबार भएको खेलमा ढोरपाटनले गलकोट नगरपालिकालाई २५–१४ र २५–२१ को सोझो सेटमा हराएको हो ।
खेलाडीलाई पुरस्कार बितरण गर्दै जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले छात्रा समूहलाइ पुरस्कार तथा पदक हस्तान्तरण गरे । उनले खेलाडीलाई समाज, जिल्ला र देश चिनाउने महाअभियानमा सफलता प्राप्त गर्न शुभकामना पनि दिएका थिए ।
आइतवारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्डमा ६ बिधाका खेलमा ५ सय ५० बिद्यार्थीले भाग लिएका थिए । बिद्यालय स्तरीय खेल भएकोले यसअघि पालिका तहमा पनि प्रतिष्पर्धा गराइएको थियो । पालिकामा बिजेताहरु जिल्ला स्तरीय खेलकालागि आएका हुन् । जिल्ला खेलकुद बिकास समितिका अनुसार २ सय ९० पदकका लागि खेल संचालन भएको थियो । सबैभन्दा धेरै ३८ स्वर्णपदक एथलेटिक्समा थिए । भलिबलमा १८ र कबड्डीमा १८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएका थिए । उसुमा ६, तेक्वान्दोमा ६ र कराँतेमा पनि ६ वटा स्वर्ण पदकका लागि खेल भएका थिए ।