गाउँमा खेलको रौनक बढ्यो

/ प्रकाशित मिति :
मंगलबार, फाल्गुन ११ २០७७

बागलुङ, ११ फागुन – तमानखोला गाउँपालिका वडा नं. ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षण गरिरहेकी छिन् । –

उनले मुख्यमन्त्री कप देखि राष्ट्रिय खेलकुँद प्रतियोगितामा पुरस्कार जित्ने योजना सुनाइन् । लामो समय देखि रोकिएको खेल गतिविधिले अल्छी बनेकी उनी खेलको प्रशिक्षण सुरु भएपछि खुसी छिन् । उनी मात्र हैन सिसाखानीकी रेखा राना, रणसिंकिटेनीकी लुनु श्रीषले पनि प्रशिक्षण लिएकी छिन् । कोरोना संक्रमण र लकडाउनका कारण लामो समय बन्द खेल गतिविधि सुरु भएपछि खेलाडी मात्र हैन, ग्रामीण भेगका अधिकांस मानिसमा पनि रौनक छाएको छ । खेलको प्रशिक्षण हेर्न पनि कतिपय पुग्न थालेको भलिबल संघ बागलुङकी उपाध्यक्ष कमला श्रीषले बताइन् ।

कोरोनाका कारण रोकिएका अधिकांस खेलका गतिविधि अहिले बढेका छन् । बागलुङमा क्रिकेट, भलिबल र फुटबलका प्रतियोगिता र प्रशिक्षण पनि सुरु भएका हुन् । ‘मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएपछि हामीले जिल्ला भरका खेलाडीको बन्द प्रशिक्षण चलायौैं’ जिल्ला भलिबल संघका अध्यक्ष यामबहादुर श्रीषले भने, ‘खेल गतिविधि बढ्दा गाउ“गाउ“मा चहलपहल पनि बढेको छ ।’ संघले गलकोट नगरपालिकाको सहयोगमा महिला तथा पुरुष भलिबलको बन्द प्रशिक्षण चलाएको थियो ।

बिद्यालय र पालिका तहबाट छनौट भएका खेलाडीलाई प्रशिक्षणमा राखिएको हो । प्रशिक्षणमा रहेका खेलाडीले पोखरामा हुने मुख्यमन्त्री कप भलिबलमा उपाधि जित्ने दावी समेत गरेका छन् । ‘मुख्यमन्त्री कप जित्ने मात्र हैन, राष्ट्रिय खेलमा पनि पुगेर पुरस्कार जित्ने लक्ष छ’ सिर्पालीले भनिन्, ‘लामो समय ठप्प खेल गतिविधिलाई अब नियमित बनाउनुपर्छ ।’ गलकोट नगरपालिकाले १ लाख र बिदेशमा बसेका गलकोटबासीले पठाएको १ लाख समेत गरी २ लाख रुपैया“बाट बन्द प्रशिक्षण संचालन गर्न पाएको श्रीषले बताए ।

जिल्ला तहका खेल समितिहरु भंग भएको, राष्ट्रिय खेलकु“द परिषदबाट बजेट नआउने तर क्रियाकलाप गर्न मात्रै निर्देशन आउने गरेकोले खेल गतिविधि गर्न चन्दाको भर पर्नु परेको समेत उनले बताए । स्थानीयले चन्दा उठाएरै ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका तथा तमानखोला, निसीखोला र बडिगाड गाउ“पालिकामा भलिबलको छनौट प्रतियोगिता गरेका थिए । अन्य चार पालिकामा भने प्रतियोगितानै हुन नसकेको हो ।

सदरमुकाममा भने बागलुङ नगरपालिकाको सहयोगमा शहिद स्मृतिकप क्रिकेट प्रतियोगिता संचालन भएको छ । प्रतियोगितामा दर्जन टिमले भाग लिएका थिए । फुटबलकालागि पनि केही समयदेखि सामान्य गतिविधि संचालनमा आएका छन् । सदरमुकाम स्थित बाङगेचउर खेल मैदानमा ती प्रतियोगिताहरु संचालनमा आएका हुन् । प्रतियोगिता संचालनकालागि बिदेशमा बसेका युवाबाट चन्दा मागिएको जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले बताए ।

जिल्ला खेलकु“द बिकास समिति खारेजीमा परेको र पालिका तहमा समिति गठन नभएपछि खेल गतिविधि संचालन हुन नसकेको समितिका निर्वतमान अध्यक्ष धनबहादुर परियारले बताए । ‘पालिकाहरुले भएको खेल मैदान व्यवस्थापनमा पनि साथ दिएनन्, केन्द्रबाटपनि बजेट आउन छाड्यो’उनले भने, ‘भाडा तिर्न नसकेर कार्यालय समेत घरघरमा लगेर राखिएको छ ।’ खेल गतिविधि संचालनकालागि चासो राख्ने युवाको चन्दाको भर पर्नु परेको परियारले बताए ।