गलकोटमा ४ युवाले भलिवल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याए

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, असोज १७ २០७७

बागलुङका ४ युवाले जिल्लामै पहिलोपटक गल्कोटमा भलिवल ट्रेनिङ सेन्टर संचालनमा ल्याएका छन् । गल्कोट मजुवा फाटम भलिवलका राष्ट्रिय रेफ्री कृष्ण शेरचन, रेफ्री राजन कार्की, राष्ट्रिय खेलाडी उपेन्द्र केसी र खेलाडी सुरेन्द्र केसीले ट्रेनिङ सेन्टर संचालनमा ल्याउनुभएको हो ।
१० लाखको लगानीमा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याईएको सञ्चालक कृष्ण शेरचनले बताउनुभयो । ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकै दिन १० जना महिला र ५१ जना पुरुष गरी ६१ जना प्रशिक्षार्थी भर्ना भएका छन् ।
पछिल्लो समय युवाहरुको रोजाइमा भलिवल खेल परेपनि खेल सिक्नको लागि जिल्लामा एउटा पनि प्रशिक्षण केन्द्र नभएकोले ट्रेनिङ सेन्टरको आवश्यकता महशुस गरेर सञ्चालनमा ल्याएको सेन्टरका अध्यक्ष यम श्रीसले बताउनुभयो ।
भलिवल खेलाडी र भलिवलमा रुचि भएका सिक्न चाहनेहरु पनि खेल सिक्नको लागि पोखरा, काठमाडौ जानुपर्ने भएको अवस्थामा अब भने बागलुङको मात्र नभई छिमेकी जिल्ला म्याग्दी, पर्वत, गुल्मी र मुस्ताङका खेलाडीहरुलाई समेत सहज हुने भएको छ ।