नेवार समुदायको साँस्कृतिक पर्व ‘गाईजात्रा’ सुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन २१ २០७७

नेवार समुदायको साँस्कृतिक पर्व गाईजात्रा सुरु भएको छ । एक वर्षभित्र दिवंगत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि ८ दिनसम्म मनाइने गाईजात्रा पर्व बागलुङमा पनि शुरु भएको हो ।
गाईजात्रा पर्वको पहिलो दिन मंगलबा मानिसलाई गाईका रूपमा सिँगारी पुत्ला (तायमचा) बनाएर बागलुङ बजार परिक्रमा गराईएको नेपाल भाषा मंकाःखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
मृतकका घर घरबाट तायमचा र बासा नाँच प्रर्दशन गर्ने प्रचलन रहेको जानकारी दिदै अध्यक्ष राजभण्डारीले यस बर्ष कोभिड १९ का कारण बासा नाच भने स्थगित गरिएको बताउनुभयो ।
बागलुङ बजारमा बसोबास गर्ने नेवार समुदाय भित्र यस बर्ष मृत्यु भएका १८ घर परिवार र लक्ष्मी नारायण कला मन्दिरबाट भगवानको दुईवटा गरि २० वटा तायमचा (गाईजात्रा) प्रर्दशन गरेको मंका खलका सचिव सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।
बागलुङ जिल्लामा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि १९८३ सालदेखि गाईजात्रा प्रर्दशन गर्न थालिएको मन्दिर ब्यबस्थापन समितिका सदस्य जयराम भारीले बताउनुभयो ।
मृतकको सम्झनामा परिवारको घर घरबाट तायमचा निकाली नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।