बागलुङका थापा सहित सदस्यसचिवका लागि तीन जनाको नाम सिफारिस

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
बिहिबार, साउन ८ २០७७

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि बागलुङका लिलबहादुर थापा मगरसहित तीन जनाको नाम सिफारिस गरिएको छ ।
निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य थापा मगरको नाम सिफारिस गरिएको हो ।
गएको वर्षको असारमा प्रधानमन्त्री ओली निकट सिलवालले खेलुकद परिषद्को सदस्यसचिवमा राजनीतिक नियुक्ती पाउनु भएको थियो । खेलकुद ऐन लागू भएपछि उहाँको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर फेरि सदस्य सचिव बन्न चाहनु भएको हो ।
भलिबल संघमा रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य थापामगर बागलुङका पूर्व जिविस सभापति हुनुहुन्छ । थापा तत्कालिन एमाओवादीका पोलिटब्यूरो सदस्य समेत हुनुहुन्थ्यो ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिव पदका लागि आह्वान गरेकोमा २७ जनाले आवेदन दिएका थिए ।
मन्त्रालयका सचिव रामप्रसाद थपलिया, परिषद्का पूर्वकर्मचारी रिम रानाभाट र परिषद्को पूर्व बोर्ड सदस्य इन्दिरा निरौला रहेको सिफारिस समितिले आवेदनको अध्ययन गर्दै तीन जनाको नाम सिफारिस गरेको हो ।