धौलागिरि क्षेत्रमै ठूलो खेलमैदान निर्माण शुरु

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, जेष्ठ ३२ २០७७

सांकेतिक तस्बिर

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा खेलमैदान निर्माण कार्य शुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण शुरु गरेको हो ।
यसअघि स्थानीय र नगरपालिकाको लगानीमा गरिदै आएको पूर्वाधार निर्माणका लागि मन्त्रालयले बजेट बिनियोजन गरेपछि तिब्रता पाएको छ ।
यसवर्ष मन्त्रालयको पचास लाख रुपैयाँ सहयोगमा खेलमैदानमा प्याराफिट निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो । ५ तह भएको ६० मिटर लम्बाई र २ दशमलव ७० मिटर चौडाई भएको प्याराफिट निर्माणको काम चलिरहेको छ ।
प्याराफिटमाथि १० फिट अग्लो तारजाली समेत लगाइने भएको छ । धौलागिरि क्षेत्रकै ठूलो क्षेत्रफल भएको खेलमैदान बनाउन आवश्यक पर्ने जग्गा भएकाले यसलाई रंगशालाकै रुपमा अघि बढाउन मन्त्रालयले चासो दिएको समितिका अध्यक्ष बोगटीले बताउनुभयो ।
कोरोनाको जोखिम र बन्दाबन्दीको बीच स्थानीय मजदुर परिचालन गरेर निर्माणको काम गरिएको छ । दैनिक रुपमा २० देखि २५ जनाले काम गरिरहेका छन् । समुह बनाएर फरक फरक ठाउँमा भौतिक दुरी कायम हुने गरि मजदुरलाई काममा लगाएको उपभोक्ता समितिका सदस्य पुनम पुनले बताउनुभयो ।