राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता काठेखोलामा सुरु

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन १७ २០७६

काठेखोला गाउँपालिकामा शुक्रबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
काठेखोला गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले खेलकुदले विद्यार्थीहरुलाई शारिरीक तथा अनुशासन विकास गर्ने बताउनुभयो । विद्यार्थीहरुलाई अध्ययनका साथसाथै खेलकुदमा लगाउँदा उनीहरुमा आत्मियता र प्रतिस्पर्धाको भावना सिर्जना हुने उल्लेख गर्नुभयो ।
उद्घाटन समारोहको अध्यक्षता कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाका संयोजक टिकासंगम विक, स्वागत सदस्य कृष्ण प्रसाद कंडेल र संचालन गाउँपालिकाका नायव सुब्बा मनोज कार्कीले गर्नुभएको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार छात्र\छात्रा भलिबल, दौड, कबड्डी, सटफुट प्रतियोगिताहरु संचालन भएका थिए । ७ विद्यालयले सहभागिता जनाएको छात्र भलिबल प्रतियोगितामा अमर मावि काठेखोला–५ विहुँले भीमसेन मावि काठेखोला–६ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने रेश नुन्थला मावि काठेखोला–७ रेशले धिमीकरिना मावि काठेखोला–१ पालालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।


यस्तै जनकल्याण मावि काठेखोला–२ भीमापोखराले लेखानी मावि काठेखोला–८ लेखानीलाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरेका छन् । छात्र भलिबल खेलको सेमिफाइनल खेलहरु भोली शनिबार रेश नुन्थला मावि विरुद्ध लक्ष्मी मावि र अमर मावि विहुँ विरुद्ध जनकल्याण मावि भीमापोखराका विच हुनेछ ।
छात्रा भलिबलको उपाधि लक्ष्मी मावि काठेखोला–३ धम्जाले जितेको छ । २ ओटा विद्यालयले मात्र सहभागिता जनाएको छात्रा भलिबलमा लक्ष्मी माविले भीमसेन माविलाई पराजित गर्दै उपाधि जितेको हो ।
(शुक्रबार) भएको १०० मिटर दौड छात्र तर्फ भीमसेन माविका खड्क कुमाल प्रथम, ग्राम विकास आधारभूत विद्यालयका नविन वि.क. द्धितिय र लालिगुराँस बोर्डिङका सुजन कंडेल तृतीय भएका छन् । यस्तै छात्रा १०० मिटर दौडमा लालिगुराँस बोर्डिङकी अनुशा निउरे प्रथम, अमर माविकी विपना विक द्धितिय भए ।