ग्रामिण वस्तीमा अन्र्तराष्टिय स्तरको कार्यक्रम हुनु सुखद बिषयः मुख्य मन्त्री गुरुङ

गलकोटमा अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला शुरु
धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन ६ २០७६

बागलुङ जिल्लाको गलकोट नगरपालिका स्थित टेउवामा सोमवार देखि अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला शुरु भएको छ ।
गलकोट नगरपालिका–५ टेउवामा आयोजित कार्यशालाको भव्य समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै उहाँले ग्रामिण वस्तीमा अन्र्तराष्टिय स्तरको कार्यक्रम हुनु सुखद बिषय भएको बताउनुभयो । उहाँले गलकोटको टेउवा पर्यटकीय हव बन्न सक्ने उल्लेख गर्दै यसको प्रचार प्रसारमा ध्यान दिन आग्रह गर्नुभयो ।
संघीयता केही खर्चिलो र महंगो भएता पनि तिव्र गतिमा समृद्धि हासिलका लागि अपरिहार्य कदम भएको उहाँको भनाई थियो । उहाँले टेउवामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गर्नु ठूलो अवसर भएको बताउनुभयो । उहाँले कार्यशालाले गलकोटलाई अन्तराष्ट्रिय तहसम्म चिनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्य सहित गलकोट कला प्रतिष्ठान बागलुङले अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो ।
१५ दिन सम्म निरन्तर चल्ने कार्यशालामा मुर्तिकारहरुले १७ वटा मुर्ति कुद्ने गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । अन्तर्रा्ष्ट्रिय स्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ ।


कलाप्रेमी सहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउने भएका छन् । मूर्तिकला सङ्ग्रहालय कलाकार, अनुसन्धानकर्मी, विद्यार्थी, कलाप्रेमी लगायतलाई अध्ययन, अनुसन्धानको केन्द्र समेत बन्ने अपेक्षा गरिएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुहुने भएको छ ।
यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी हुनु हुने बताइएको छ ।