फागुनमा बागलुङमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला हुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १០ २០७६

बागलुङको गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको तयारी तिव्र पारिएको छ ।
दश विदेशी सहित १५ मूर्तिकारले भाग लिने उक्त कार्यशालाको तयारी तिब्र पारिएको आयोजक गल्कोट कला प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले आवश्यक रकम जुटाउने र मुर्तिकारका लागि आवश्यक कुँद्ने सामानदेखि घामपानी ओत्ने प्लाष्टिकसम्मका सामाग्रीहरु खरिद गरिसकेको जानकारी दिनुभयो ।
आयोजक गलकोट कला प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी दुई सय ५ जना मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह–प्राध्यापक हृदयबल्लभ पाण्डे सहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको बताइएको छ ।
अध्यक्ष रानाका अनुसार दुई सय ५ जना विदेशीले आवेदन दिएपनि स्वतन्त्र छनोट समितिबाट ११ देशका १५ जना मूर्तिकार मात्र छानिएका छन् । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, इन्द्र खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुने अध्यक्ष रानाले जानकारी दिनुभयो ।
यस्तै विदेशीहरु जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेल कार्यशालामा सहभागी हुने छ ।
मुर्ति बनाउन दुई टन भन्दा ठूला १५ वटा ढुंगा खोजी गरि संकलन गरिएको अध्यक्ष रानाले बताउनुभयो । मूर्तिकला कार्यशालाको लागि आयोजकले २ करोड ३० लाख जम्मा खर्च हुने अनुमान गरेको छ ।
अध्यक्ष रानाले हालसम्म सामाग्री खरिदमा १४ लाख र पूर्वाधारमा गरि ८६ लाख ९३ हजार खर्च भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालामा थप १ करोड ४१ लाख खर्च लाग्ने बताउनुभयो ।
कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख बजेट छुट्टिएको थियो । पर्यटन मन्त्रालय मार्फत बजेट आएपछि कामले गति लिएको हो ।
अघिल्लो वर्ष नै कार्यशाला गर्ने भनिएपनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आवमा तीन लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको छ ।
यस्तै यो वर्ष गण्डकी प्रदेश सरकारले १० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट पाँच लाख सहयोग प्राप्त भएको छ ।
यस्तै स्थानीयवासी पूर्ण काउचाले ५ लाख सहित अन्य व्यक्तिले पनि आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । कार्यशालामा अन्तराष्ट्रिय स्तरका ख्याती आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिने बताइएको छ ।