धम्जामा प्रथम गाउँपालिका भलिबल कप हुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष ११ २០७६

बागलुङको काठेखोला गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप भलिबल तथा साँगितिक प्रतियोगीता आयोजना गरेको छ ।
कला संस्कृति तथा खेलकुद विकास समितिको आयोजनामा माघ १५ गतेदेखि १८ गतेसम्म काठेखोला गाउँपालिका– ३ धम्जा देउरालीमा कार्यक्रमको आयोजना गरिएको समितिका संयोजक टिका संगम विकले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिकाका ८ ओटा वडाहरु विच वडास्तरीय भलिबल प्रतियोगिता, काठेखोला लोकतारा–२०७६, काठेखोला गजल तारा–२०७६, सोरठी प्रतियोगिता र काठेखोलाको पर्यटन विकास, सम्भावना र चुनौती विषयक मावि विद्यालय स्तरीय वक्तृत्व प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।
भलिबल प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । काठेखोलाको खेलकुद तथा कला साहित्य संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक विकले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि समितिले विभिन्न उपसमिति गठन गरेको छ ।
समितिले भलिबल संयोजकमा बाबुराम भण्डारी, सोरठी संयोजकमा प्रेम श्रीस, लोक तारा संयोजकमा विक्रम शर्मा, गजल तारा संयोजकमा सुकमाया पुन, स्वयंमसेवक संयोजकमा निर्मल थापा र मञ्च व्यवस्थापन संयोजकमा सुर्य भण्डारी रहनुभएको छ । यस्तै सुर्य भण्डारीको संयोजकत्वमा १ सय २१ सदस्य प्रचारप्रसार समिति गठन गरिएको छ ।