कृषिजन्य उत्पादन बिक्रीबाट ४ करोड भित्रियो

४ सय ७६ परिवार कृषि पेशामा आवद्ध
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २४ २០७६

जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँका किसानले चालु आर्थिक बर्षमा कृषिजन्य उत्पादन बिक्री गरेर झण्डै चार करोड रुपैयाँ गाउँ भित्राएका छन् । दुध, सुन्तला, उखु, अदुवा, पलम, बाख्रा लगायतका कृषिजन्य उत्पादनको बिक्रीबाट चालु आर्थिक बर्षमा मात्रै ३ करोड ८० लाखभन्दा धेरै गाउँ भित्रिएको हो ।
बिहुँबाट चालु आर्थिक बर्षमा १ करोड ५० लाख, ३० हजार २ सय २५ रुपैयाँका सुन्तला, १ करोड ३५ लाख ९० हजार २ सय रुपैयाँको दुध, ८ लाख ९५ हजार रुपैयाँको केरा, ७५ हजार ३ सय ५० रुपैयाँको अम्बा, ३ लाख ९० हजारका खसिबोका, ५ लाख २० हजार १ सय ५० रुपैयाँका कुखुरा र अन्य घुसुवा तथा नगदे बालीको बिक्रीबाट उक्त रकम गाउँ भित्रिएको हो ।

काठेखोला–६ बिहुँका शिवलाल कँडेलले चालु आर्थिक बर्षमा मात्रै १ लाख २० हजरा रुपैयाँको कृषिजन्य उत्पादन बिक्री गरे । ७० हजार रुपैयाँको दुध, ३० हजार रुपैयाँको सुन्तला र १० हजार रुपैयाँको उखु बिक्री गरेर कँडेलले सो रकम कमाएका हुन् । उनी जस्तै घरछेउको बारीमा सुन्तलाको खेती गरेका सयौं किसान बिहुँमा छन् । उनीहरुले आम्दानीको मुख्य स्रोत कृषिजन्य उत्पादनलाई नै लिने गरेका छन् । ‘एउटा भैंसी पालेको छु, सत्तरी असी वटा सुन्तलाका रुख छन्’ कँडेलले भने ‘दुध र फलफुल बेचेर घर खर्च चलाएको छु ।’ बिहुँका किसनाले अत्यावस्यक सामग्री बजारबाट ल्याउँदा त्योभन्दा धेरै कृषिजन्य उत्पादन बजार पठाउने गरेको उनले दाबी गरे ।

बिहुँबाट दुध तथा दुग्धजन्य उत्पादनको बिक्री वितरण र सुन्तलाको बिक्री धेरै हुने गरेको छ । भरिभराउ देखिने बिहुँका बारीमा फलेको सुन्तलाले गाउँमा करोडौं रकम भित्राएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । बिहुँका किसानले कुनै न कुनै रुपमा कृषिजन्य उत्पादनको बिक्री वितरण गरेर घर खर्च चलाउने गरेका छन् । व्यवसायिक रुपमा उत्पादन गर्नेले राम्रो आम्दानी गर्ने गरेको र निर्वाहमुखी खेती गरेकाहरुले पनि घरखर्चको लागि कृषिजन्य उत्पादनकै भर गर्ने गरेको कँडेलले बताए ।
वडा कार्यालयले यहाँका किसानलाई चार तहमा विभाजन गरेर स्तरीकरण गरेको छ । वडा कार्यालयको तथ्यांक अनुसार व्यवसाय उन्मुख, सिमान्तकृत, निर्वाहमुखी र सोखको लागि कृषि पेशा गर्ने किसान बिहुँमा छन् ।

वडा कार्यालयले गरेको सर्वेक्षणमा यहाँका ४ सय ७६ परिवार कृषि पेशामा आवद्ध छन् । उनीहरुमध्ये अधिकांशले निर्वाहमुखी कृषि पेशा गर्ने गरेको तथ्यांक छ । ‘बिहुँका हरेक किसानको बारीमा सुन्तला छन्, भैसी पालेकाले दुध बिक्री गरेकै हुन्छन्’ वडा अध्यक्ष कँडेलले भने ‘कतै समुहमा त कतै सहकारी संस्थामा आवद्ध भएर यहाँका किसानले कृषिजन्य उत्पादनबाट आम्दानी लिन्छन् ।’ बिहुँमा स्थापना भएको नमुना दुग्ध उत्पादक सहकारी संस्था र मिलीजुली दुग्ध उत्पादक सहकारी संस्थाले किसानको दुग्ध संकलनदेखि बजारीकरणको काम गर्ने गरेका छन् । सहकारीमार्फत दुग्धको कारोवार गर्दा बिक्रीका लागि बजार पु¥याउनु पर्ने झण्झट नै आम्दानी गर्न सकिने कँडेल बताउँछन् ।

बिहुँबाट बर्षेनी करोडौं रुपैयाँको कृषिजन्य उत्पादन बिक्री हुने गरेको भएपनि त्यसको व्यवस्थापन गर्न नसक्दा व्यवसायिक नबनेको भन्दै वडा कार्यालयले कृषकहरुको स्तरीकरण गरेको हो । ‘हामीले उत्पादन गरेर बिक्री भैरहेको कुरामा समस्या छैन, यसैलाई व्यवसायिक उत्पादनसँग जोड्न खोजेका छौं’ वडा अध्यक्ष कँडेलले भने ‘सोखका लागि खेतीपाती गर्नेहरुलाई पनि राम्रो आम्दानीको स्रोतका रुपमा कृषिलाई अवलम्बन गर्ने बनाउन स्तरीकरण गरेका हौं ।’बिहुँमा उत्पादन भएको दुध, फलफुल तथा तरकारीहरु बागलुङ बजारमा बिक्री हुने गरेका छन् । मध्य पहाडी लोकमार्गले यातायातमा सहजता बनाएकाले बजारीकरणमा कुनै समस्या नरहेको किसानहरु बताउँछन् । सुन्तला उत्पादनको हिसाबले बिषेश क्षेत्र मानिने बिहुँमा व्यवसायिक मौरीपालन र अलैची खेतीको समेत सुरुवात गरिएको छ ।