बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह संकलन सुरु

/ प्रकाशित मिति :
शनिबार, जेष्ठ ९ २០८३

 

बागलुङ, ९ जेष्ठ – पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह संकलन सुरु गरिएको छ ।
ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह संकलन गरिएको हो । सो वडाको ठुलोभीर र वडा नं. ३ हिलको गुफा सामुदायिक वनमा भिरमह संकलन गर्ने तयारी छ । कुनै वर्षमा दुई याममा मह पाइए पनि प्रायः वर्षमा एकपटक मात्र संकलन गरिन्छ ।

जुल्फे सामुदायिक वनको तारेभीरमा रहेका १३ घारबाट यस वर्ष ६० लिटर मह संकलन गरिएको उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताउनुभयो । यस वर्ष मह उत्पादन घटेको उहाँको भनाइ छ । गत वर्ष जुल्फे र ठुलोभीरमा २६० लिटर मह संकलन गरिएको थियो । मौसम परिवर्तनको असर भिरमौरीमा देखिँदा वर्षेनि उत्पादन घट्दै गएको घर्तीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले भने लामो समयको अन्तरालमा मह उत्पादन बढ्ने वा घट्ने अवस्थालाई मात्र जलवायु परिवर्तनको असर भन्न नसकिने बताउनुभयो । मौरीलाई मह बनाउन आवश्यक पानी अनुकूल समयमा नपर्नु र फूल फुल्ने समयको कमीका कारण पनि उत्पादन घट्न सक्ने उहाँको भनाइ छ ।

परम्परागत रूपमा भिरमह संकलन हुँदै आए पनि यसलाई व्यवस्थित र व्यावसायिक बनाउन सके आयआर्जनको राम्रो माध्यम बन्न सक्ने घर्तीले बताउनुभयो । भिरमह संकलनको परम्परालाई ग्रामीण क्षेत्रमा उत्सवकै रूपमा लिइन्छ ।
मह संकलनपछि संलग्न भिरौटे, आवश्यक सामग्री बोक्ने भरिया र सहयोगीलाई बाँड्ने प्रचलन छ । बढी उत्पादन भएमा बिक्री गरी वन उपभोक्ता समितिको हितमा खर्च गरिन्छ । औषधिजन्य गुणयुक्त भिरमह प्रतिलिटर करिब ३ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।

भिरमह संकलन जोखिमपूर्ण हुने भएकाले जो–कोहीले सजिलै संकलन गर्न सक्दैनन् । जिजुबाजेले सिकाएको ज्ञान र सीपलाई पछ्याउँदै हरेक वर्ष ताराखोलामा भिरमह संकलन गरिन्छ ।

घर्तीका अनुसार लेकाली चोया र काठबाट बनेको पराङ मह संकलनका मुख्य सामग्री हुन् । पराङकै सहायतामा सिकारीहरू भीरमा पुग्छन् । महको चाका निकाल्ने औजारसँगै निगालोको चोयाबाट बनेका डोका पनि प्रयोग हुने गर्छन् ।