फुटबलको उपाधि रत्नलक्ष्मी माविलाई

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, जेष्ठ २२ २០७६

बागलुङको गल्कोट नगरपालिका–११ रिघामा भएको क्विक्स कप अन्तरस्कुल स्तरीय इलाका छनोट फुटबल प्रतियोगिताको उपाधि रत्नलक्ष्मी माविले जितेको छ ।
जिल्ला फुटबल संघ बागलुङको आयोजना र रत्नलक्ष्मी मावि, धर्मापोखरी युवा क्लब र रिघा खेलकुद विकास समितिको सह–आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा मंगलबार रत्नलक्ष्मी मावि रिघाले नवप्रभात बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको विजेता रत्नलक्ष्मी माविले नगद १० हजार रुपैयाँ र २५ गतेदेखि जिल्ला सदरमुकाम बागलुङ बजारमा हुने क्विक्स कप अन्तरस्कुल स्तरीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने उपविजेता नवप्रभाव बोर्डिङ स्कुलले ५ हजार रुपैयाँ प्राप्त गरेको जिल्ला फुटबल संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो ।
५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा रत्नलक्ष्मी माविले त्रिभुवन नमुना माविलाई र नवप्रभाव बोर्डिङले न्यू लाईफ बोर्डिङ स्कुललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।