माघ २६ र २७ गते एभरेष्ट कप फुटसल हुने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ २५ २០८០

न्यू एभरेष्ट एकेडेमीले (आधारभूत तह) विद्यालयस्तरीय फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै १८ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको पूर्वसन्ध्या विद्यालयले गर्ने विविध प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आगामि माघ २६ र २७ गते अन्तर विद्यालय आधारभूत तह (कक्षा –७) स्तरिय फुटसल प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी दिए । एभरेष्ट कप फुटसल प्रतियोगितामा सम्बन्धित तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन पाउने छन् । विद्यार्थी मैत्री वातावरणमा सिर्जनात्मक र रचनात्मक आन्तरिक खेल सहित साँस्कृतिक नृत्य प्रतियोगिता र अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयले जनाएको छ ।

फुटसल खेलको उद्घाटनसँगै वार्षिकोत्सव सुरु हुनेछ । विद्यालयले आयोजना गर्ने यस वर्षको वार्षिकोत्सब माघ ५ गते मुल समारोहका बिच समापन हुनेछ । खेल नै जीवन हो भन्ने मुल नारालाई आत्मसाथ गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्ने र विद्यालय उमेरका विद्यार्थीहरुमा खेलप्रतिको थप रुची उत्पन्न गराउनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

प्रतियोगितामा आयोजक न्यू एभरेष्ट एकेडेमीका २ टिमसहित बागलुङ बजार क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने करिब डेढ दर्जन बढी विद्यालयका प्रतियोगी विद्यार्थी समूहहरुका बिच प्रतिस्पर्धा हुनेछ । रस आवर फुटसल बानपा ३ गुठीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः १२ हजार ७ सय ७७ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।