गुराँस कप फुटसल प्रतियोगिता शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ २४ २០८០

बागलुङमा प्रथम गुराँस कप अन्तर बिद्यालय फुटसल प्रतियोगिता शुरु भएको छ । बागलुङ नगरपालिका वडा नम्वर ३ स्थित गुराँस बिद्या सदन र गुराँश चाइल्ड क्लवको आयोजनामा प्रथम गुराँश कप अन्तर बिद्यालय फुटसल प्रतियोगिता हुने भएको हो ।

गुराँश बिद्या सदनको छैठो बार्षिकोत्सवको सन्दर्भ पारेर कक्षा ८ सम्मका बिद्यार्थीहरुका बिचमा संचालन गरिएको प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले गर्नु भएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले प्रतियोगिताले खेल प्रतिभा पहिचान र प्रस्फुटनमा सहयोग पुग्ने बताउनुुभयो । उहाँले खेलकुदको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, प्याब्सनका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्र न्यौपाने, नेपाल पत्रकार महासंघ बागलुङका विजय रानाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतियोगितामा १९ समुहको सहभागिता रहेको गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता समुहलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता बन्ने समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल, प्रमाणपत्र प्रदान गरिन उहाँले बताउनुभयो ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने समुहलाई पनि ट्रफी र प्रमाण पत्र प्रदान गरिने जानकारी दिदै शिक्षक रामु जिसीले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने बताउनुभयो ।