चैत २९ र ३० गते बागलुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

/ प्रकाशित मिति :
शनिबार, चैत्र ७ २០७७

बागलुङ, ७ चैत – बागलुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २९ र ३० गते हुने भएको छ । जिल्ला समन्वय समितिको बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
बैठकले चैत २३ गतेभित्र सबै पालिकाले प्रतियोगिता गरेर उत्कृष्ट विद्यार्थी खेलाडी पठाउन आग्रह गरेको छ । खेलका लागि प्रशासन, प्रहरी समेतलाई शान्ति सुरक्षा र अन्य व्यवस्थापनमा साथ दिन आग्रह गरिएको समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको कार्यक्रमलाई समन्वय समितिले एकीकृत गरेर प्रतियोगिता संचालन गर्न लागेको हो ।
यसअघि जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गर्दै आएको थियो । अहिले समिति नभएको र बजेट संकलनका लागि समेत व्यवस्थापन भएको थिएन । समन्वय समितिले सबै क्षेत्रको समन्वय गरेर बजेट संकलन गरी खेल संचालनको तयारी गरेको हो ।