खेलमैदानमा प्याराफिट निर्माण

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
मंगलबार, भाद्र २३ २០७७

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरस्थित खेलमैदानमा प्याराफिट निर्माण भएको छ ।
क्षेत्रीयस्तरको खेलमैदान बनाउने उद्देश्यका साथ युवा तथा खेलकुद मन्त्रालय मार्फत विनियोजित ५० लाख रुपैयाँको बजेट र स्थानीयको ६ लाख बराबरको श्रमदानमा प्याराफिट निर्माण गरिएको हो ।
खेलमैदानको डिलतर्फ ६० मिटर लम्बाई र ४ मिटर चौडाई भएको प्याराफिट लगायतका पूर्वाधार निर्माण गरिएको छ । प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको पहलमा सुरु भएको खेलमैदानमा विनियोजित बजेटबाट प्याराफिट माथि करिब १० फिट अग्लो तारजाली समेत लगाइएको उपभोक्ता समितिका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो ।
क्षेत्रीयस्तरको खेलमैदान निर्माणका लागि पाँच करोडको डिपिआर अनुसार मन्त्रालयबाट थप प्याराफिट र खेलमैदानका अन्य संरचनामा बजेट ल्याउन पहल गरिरहेको बताउनुभयो । कोरोनाको जोखिमका बीच उपभोक्ता समितिले स्थानीय मजदुरको प्रयोग गरी प्याराफिट निर्माण गरेको बोगटीको भनाई रहेको छ ।
२ सय मिटर लम्बाई र १ सय १० मिटर चौडाई भएको उक्त खेलमैदानमा खेलकुद विधामा फुटबल, भलिबल, एथ्लेटिक्स लगायतका विभिन्न खेलहरु सञ्चालन गर्न सकिने अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।
म्याग्दी सदरमुकाम बेनीबजारपछि सबैभन्दा धेरै खेलकुदका गतिविधिहरु हुने खेलमैदान समेत भएकाले भविष्यमा क्षेत्रीय र जिल्ला स्तरीय प्रतियोगिताहरु सञ्चालन गर्न सकिने भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।