काठेखोलामा नेकपाको प्रशिक्षण सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन ७ २០७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाँउपालिकाको आयोजनामा बागलुङको बिहुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री एवँ नेकपाका स्थायी कमिटि सदस्य पृथ्वी सुब्बा गुरुङले कम्युनिष्ट पार्टीको जनता सँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीलाई अनुशासित र सदृढ बनाउने कार्यमा नेता तथा कार्यकर्ता दुबैको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । अधिकारको कुराले मात्र पार्टी संचालनमा कठिनाई हुने चर्चा गर्दै मुख्यमन्त्री गुरुङले–पार्टी भित्र अधिकार र जिम्मेवारीलाई सँगसंगै लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेशका सचिव तथा मुख्यमन्त्रीका सल्लाहकार गोबिन्द नेपालीले कम्युनिष्ट पार्टीमा चुनाव जित्नु मात्र ठुलो कुरा नभएको बताउदै कम्युनिष्टको मुल उदेश्य सर्वहारा वर्गको अधिनायकत्व हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कँडेलको स्वागत मन्तव्य र नेकपा गाउँपालिकाका सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।