परीक्षाको मुखमा महोत्सव गर्न विद्यालय बन्द

धौलागिरी एफ.एम. संवाददाता, म्याग्दी / प्रकाशित मिति :
मंगलबार, माघ २१ २០७६

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ ।
गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ ।
माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई एसईई तयारी परिक्षा सञ्चालनको तयारीमा जुटेको अबस्थामा गाउँपालिकाले विद्यालयको होस्टेल रहेको परिसरमा १६ देखि २१ गतेसम्म महोत्सव लगाएपछि पठनपाठन अबरुद्ध भएको हो ।
नारच्याङ माविका विद्यार्थिहरुको होस्टेल रहेको स्थानीय आमा समुहको भवन र युवा क्लबको खेलमैदान परिसरमा माघ १६ देखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ ।
होस्टेल परिसरमा महोत्सव संचालन भएसँगै होस्टेलका विद्यार्थीहरुलाई अध्ययन गर्ने उचित वातावरण नभएपछि होस्टेल बन्द गरेर घर पठाउन बाध्य भएको विद्यालयले जनाएको छ । होस्टेलमा कक्षा १० तथा ९ कक्षाका इलेक्ट्रिकल इन्जीनियरिङ्ग तर्फका विद्यार्थीहरु बस्दै आएका थिए ।
परिक्षाको मुखमा विद्यालयको पठनपाठन रोकिएसंगै विद्यार्थीहरु अलमलमा परेका छन् । परिक्षाको तयारी गर्नुपर्नेछ, विद्यालय बन्द छ, कसरी परिक्षामा सहभागी हुने ?’’–एक विद्यार्थीले प्रश्न गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले परिक्षाको मुखैमा पठनपाठन नै बन्द गर्ने पक्षमा नभए पनि गाउँपालिकाको दबावका कारण विद्यालय बन्द गर्नुपरेको बताउनुभयो ।
महोत्सव स्थल विद्यालयको नजिक र होस्टेल परिसरमा रहेकाले विद्यालय बिदा गर्नुको विकल्प नभएको अध्यक्ष गुरुङको भनाई छ । ‘‘विद्यालय बन्द गर्नु राम्रो होईन, होस्टेल परिसर महोत्सव स्थल छनौट हुनु र परिक्षाको समयमा महोत्सव गर्नु नै विद्यार्थीको हित विपरीत छ ।’’– उहाँले भन्नुभयो ।
विद्यालयमा यस वर्षदेखि प्राविधिक शिक्षासमेत सुरु भएको छ । महोत्सवका कारण इलेक्ट्रिकल इन्जिनियरिङ्गसहित दुई सय ४० विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयका अनुसार, स्थानीय विदाको सबै कोटा यस अघि नै कटौती भैसकेको छ ।
महोत्सव अवधिमा विद्यालय बन्द हुँदाको क्षतिपूर्ति कसरी गराउने ? गम्भिर प्रश्न खडा भएको छ । म्याग्दीमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा स्थानीय तह, राजनीतिक दल, नीजि क्षेत्र र अन्य सरोकारवालाहरुको सहभागीतामा जारी गरिएको मेला तथा महोत्सव सम्बन्धि मापदण्डलाई समेत यस महोत्सवले उलङ्घन गरेको छ ।
मेला तथा महोत्सव लगाउँदा विद्यालयको पठनपाठनमा प्रभावित गराउन नहुने र शैक्षिक संस्थाको परिसरमा लगाउन नपाईने मापदण्डमा उल्लेख छ ।