पूँजीगत खर्चमा सघं भन्दा प्रदेश सरकार अगाडी

धौलागिरी एफ.एम. संवाददाता / प्रकाशित मिति :
शुक्रबार, माघ १७ २០७६

चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा बागलुङमा रहेका संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पूँजीगत खर्च बढी गरेका छन् ।
संघ मातहतका कार्यालयहरुले पूँजीगत तर्फ १७.८८ प्रतिशत खर्च हुँदा प्रदेश मातहतका कार्यालयहरुले २१.३७ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङले जनाएको छ ।
संघ मातहतका कार्यालय १ अर्ब ७ करोड ३ लाख ९९ हजार पूँजीगत बजेट रहेकोमा पुस मसान्तसम्म २० करोड ९३ लाख १२ हजार ७ सय २७ रुपैयाँ खर्च भएको छ । यस्तै प्रदेश मातहतका कार्यालय तर्फ ९८ करोड २० लाख ९५ हजार पूँजीगत बजेटमा पुस मसान्तसम्म २० करोड ९९ लाख ७ हजार ६९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका कोष नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यस्तै चालु तर्फ संघ मातहतका कार्यालयहरुले ४१.१३ प्रतिशत र प्रदेश मातहतका कार्यलयहरुले १६.९१ प्रतिशत खर्च गरेका छन् । संघ मातहतका कार्यालयहरुको ५ अर्व ३४ करोड ९० लाख १ हजार ९ सय १७ रुपैयाँ बजेटमा यस आवको ६ महिनामा २ अर्ब २० करोड ५ लाख ५५ हजार ४ सय ३ रुपैयाँ खर्च भएको छ ।
यस्तै प्रदेश मातहतका कार्यालयहरु तर्फ ५४ करोड ७ लाख १८ हजार ४ सय ६० रुपैयाँ बजेट मध्ये ९ करोड १४ लाख ५९ हजार ६ सय १२ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङले जनाएको छ ।
बागलुङका १० स्थानिय तहतर्फ भने चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च भएकै छैन । स्थानिय तहहरुको पूँजीगत तर्फको बजेट कम हुने भएकाले अहिले खर्च नभएको हुन सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका कोष नियन्त्रक आचार्यले जानकारी दिनुभयो ।
उहाँले अहिले विकास निर्माणका कार्यालयहरु प्रदेश मातहत रहेकाले पूँजीगत खर्च संघभन्दा प्रदेशका कार्यालयहरुमा धेरै देखिएको बताउनुभयो । विकास निर्माणको टेन्डर लगायतका प्रक्रियाहरु सुरु भएर मात्र खर्च हुने भएका कारणले कम खर्च भएको हुन सक्ने कार्यालय प्रमुख आचार्यको भनाई छ ।