अन्नपूर्ण पर्यटन महोत्सवकोे तयारी पुरा

धौलागिरी एफ.एम. संवाददाता, म्याग्दी / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न. ४ मा पर्ने नारच्याङको बेशी गाँउमा महोत्सव र प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
महोत्सव तथा प्रतियोगिताको मञ्च व्यवस्थापन, खेलमैदान निर्माण, प्रचारप्रसार लगायतका तयारी पुरा भएको आयोजकले जनाएका छन् । महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा उदघाट्न गरिने बताइएको छ । महोत्सव स्थलमा कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी गरिने गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।
वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने खेलकुद तथा सांस्कृतिक उपसमिति संयोजक ओमप्रकाश फगामीले बताउनुभयो । सबै प्रतियोगितामा सहभागि हुने गाउपालिका भित्रका ८ वटा वडाका खेलाडीहरु नारच्याङ पुगेको बताइएको छ ।