अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शुक्रबार, माघ १០ २០७६

म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।
अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको हो ।
माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेशीगाउमा महोत्सवसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका जानकारी दिदै पुनले नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य भएको बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा समेत तयार पारिएको छ ।
अध्यक्ष पुनको संयोजकत्वमा मुल र विभिन्न उपसमिति गठन गरेर महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कृष्णप्रसाद बरुवालले बताउनुभयो ।