छैटौँ पर्वत महोत्सवको तयारी तीब्र

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, माघ ७ २០७६

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवको तयारी तीव्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
अहिले महोत्सवको तयारी स्वरुप विभिन्न कामहरु धमाधम भइरहेको आयोजक पर्वत उद्योग बाणिज्य संघले जानएको छ । महोत्सवको तयारीको करिब ८० प्रतिशत जति काम भइसकेको उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।
महोत्सवको गेट, मञ्च, रमाईलो मेला ब्यबस्थापनदेखि लिएर प्रचारप्रसारको कामहरु भैरहेको उहाँले बताउनुभयो ।महोत्सव आउन दुई दिन मात्र बाकिँ रहँदा तयारी पनि त्यसै अनुरुप भएको उहाँको भनाइ छ ।
महोत्सव संगसंगै भ्रमण वर्षलाई पनि लक्षित गरी बजारका विभिन्न ठाउँमा स्वागत द्धार पनि बनाईरहेको उहाँले बताउनुभयो ।


मनोरञ्जन तथा बाल उद्यानहरु, साँस्कृतिक झाँकीको तयारीदेखि कलाकारहरुको नामावली लगायतका सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुगेको संयोजक शर्माले बताउनुभयो । यस वर्षको महोत्सवमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ । आफनो संस्कृती झल्काउने र कृषिका स्टलहरुलाई बढी प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो ।
अहिले सम्म ९० प्रतिशत स्टल बुकिङ्ग सकिएको महोत्सवका आर्थिक संयोजक तथा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा स्टल निर्माणको काम भैरहेको छ । महोत्सवमा २ सय स्टल रहने उहाँले बताउनुभयो । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ ।
महोत्सवमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । महोत्सव अवधिभर सुरक्षाको तयारी पनि त्यसै अनुरुप भइरहेको संयोजक शर्माले बताउनुभयो ।
प्राईभेट सेक्युरेटी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षा दिने गरी सुरक्षाको व्यवस्था मिलाइएको उहाँको भनाई छ । हरेक तीन – तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा छ भने महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ ।