पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
आइतबार, पुष २७ २០७६

पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैठौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आउन झण्डै दुई साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेको हो ।
महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सम्पन्न भैसकेको छ । अहिले प्रचार प्रसारलाई तीब्रता दिईएको छ भने आर्थिक संकलन, स्टल बुकिङ्ग, रमाईलो मेला, मुख्य प्रायोजक, सहप्रयोजक लगायतहरुसँग सम्झौताको काम समेत सम्पन्न भएको छ ।
हरेक वर्ष बजार क्षेत्रभित्र भाडामा जग्गा लिएर संचालन गर्दै आएको महोत्सव यसपटक भनेर वडागाउँमा रहेको खेल मैदानमा हुने भएको हो । महोत्सव अगावै पर्वत उद्योग बाणिज्य संघको पहलमा खेलमैदानले पुर्णता पाएपछि महोत्सवको सवैभन्दा ठुलो सफलता यसैलाई मानिएको छ । माघ ९ गतेदेख शुरु हुने महोत्सवको स्टल,मञ्च तथा रमाईलो मेलाका सामाग्रीहरु महोत्सव स्थलमा आउन थालेका छन् ।
त्यसैगरी उद्घाटन लगायतका कार्यक्रमहरु व्यवस्थापन तथा सफल पार्नका लागि शनिवार पर्वतका क्रियाशिल संघ संस्थाहरुसँग छलफल गरिएको छ । विभिन्न गैरसरकारी संस्था, सामाजिक संघ संस्था, धार्मिक संघ संस्थाहरुसँग छलफल गरिएको छ । सो अवसरमा विभिन्न संयोजकहरुले आ–आफ्नो उपसमितिको तयारीवारे जानकारी दिएका थिए ।
सो अवसरमा उद्घाटन अघिको प्रभातफेरीलाई भव्य र सभ्य बनाउन सवै संघ संस्थाको छुट्टाछुट्टै झाकी र ¥याली गरिने भएको छ । त्यसैगरी महोत्सवमा बढि भन्दा बढि दर्शकहरुलाई भित्र्याउनका लागि सवैले सामाजिक सञ्जाल वा व्यक्तिगत तवरवाट प्रचारप्रसारमा जोड दिन समेत आव्हान गरिएको छ ।
तीन तीन वर्षमा हुँदै आएको महोत्सवलाई लक्ष्य अनुरुप सफल पार्नका लागि सवै संघ संस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन् । गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।