पोखरेलीलाई बागलुङ महोत्सवको निम्तो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २३ २០७६

आगमी पुस ११ गते देखि २० गतेसम्म आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औधोगिक व्यापार मेला एवं बागलुङ महोत्सवमा उपस्थितिको लागि आयोजकले पोखरेलीलाई निम्तो दिएको छ ।
आइतवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसँग भेटघाट गरि महोत्सवमा सहभागिताको लागि अनुरोध गरेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कंडेलले जानकारी दिनुभयो ।
‘कला संस्कृति संरक्षण, कृषि पर्यटन उद्योग तथा व्यापार प्रबद्र्धन’ भन्ने मुल नाराका साथ धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा छैठौ सस्करणको बागलुङ महोत्सव आयोजना गरिएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्दै गण्डकी प्रदेशभित्रका पर्यटकीय,धार्मिक स्थल एवम सांस्कृतिक गतिविधिको संरक्षण र प्रचारप्रसार गर्ने प्रमुख उदेश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको मुख्य आयोजना रहेको महोत्सव सफल बनाउन जिल्लामा रहेका १० स्थानीय सरकार ,जिल्ला समन्वय समितिलगायत विभिन्न संघ संस्थाले साथ दिएको महासचिव कंडेलले बताउनुभयो ।
महोत्सवमा सम्पूर्ण स्थानीय तहमा रहेका विभिन्न जातजातिका साँस्कृतिक झांकी, जिल्लाभर रहेका २८ होमस्टे मा बनाइने खानाका परिकारलाई समेत समावेश गर्ने अध्यक्ष उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।