नेपाल कै पहिलो गौ महोत्सव शुरु

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
शुक्रबार, मंसिर २០ २០७६

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालीगण्डकी किनारमा बिहीबारदेखि नेपालमै पहिलो पटक गौमहोत्सव सुरु भएको छ ।
लोपोन्मुख वैदिक गाईको संरक्षण र कालञ्जर क्षेत्रको धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको संयोजनमा धाइरीङको गण्डकी गोपाल गौशालाले धनधान्याचल बिराट् महायज्ञ एवम् गौमहोत्सव आयोजना गरको हो ।
महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, स्वामी कमलनयनाचार्यले उद्घाटन गर्नुभएको थियो । स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा विस २०७२ मा गौशाला स्थापना भएको थियो ।
गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण, स्थानीय गाइको संरक्षण, पौराणिक महत्वको कालञ्जर क्षेत्र तथा गाईको महत्व उजागर गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
कालीगण्डकी र लुङदी नदीको दोभानमा आयोजना गरिएको महोत्सव मंसिर २६ गतेसम्म सञ्चालन हुने र पाँच करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।’ हाल ३६ वटा गाइ पालिएको गौशालाको क्षमता बढाएर दुई हजार बनाउने तयारी भएको छ । धर्म, संस्कारका हिसाबले समेत महत्त्वपूर्ण मानिने गाई लोप हुने खतरा बढेपछि स्वामी कमलनयनाचार्यको संकल्पमा गौशाला निर्माण गरिएको थियो ।
दूधका लागि उन्नत जातका गाई पाल्ने चलन आएपछि स्थानीय जातका गाइ हराउन थालेका छन् । खेतबारी जोत्न गोरुको विकल्पमा उपकरणको प्रयोग बढ्नु, चरनको अभाव र कम दूध दिने भएकाले धार्मिक, सांस्कृतिक, प्रौराणिक र पर्यावरणीय महत्व भएको स्थानीय गाई पाल्ने क्रम घटेको छ ।
हिन्दु समाजमा धार्मिक र सांस्कृतिक कार्यका लागि नभै नहुने जुरो भएका स्थानीय जातका गाईको पर्यावरणीय र जैविकीय महत्व रहेको मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो । व्यवसायिक रुपमा लाभ नहुने र खेतबारी जोत्ने ट्याक्टरको प्रयोगसंगै यी गाइहरु लोप हुदै गएकाले संरक्षण थालिएको उहाँको भनाई छ ।
गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने उद्देश्य राखिएको महोत्सवका सहअध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । गौशालाबाट प्राङगारिक मल उत्पादन गरि तरकारी र खाद्यबालिमा रासायिनक मल र विषादीको प्रयोग घटाउने लक्ष्य राखिएको छ ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले राष्ट्रिय जनावर गाइको जैविकीय, पर्यावरणीय, स्वास्थ्य सम्बन्धी महत्व बुझाएर संरक्षणमा जागरण ल्याउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जलजला गाउँपालिकामा पर्ने ऐतिहासिक धार्मिक स्थल कालञ्जर पर्वतलाई विश्व सम्पदा सुचिमा राख्न पहल गरिएको बताउनुभयो ।
उदघाटन कार्यक्रम शुरु हुनु अघि मिलनचोक, बेनी, बागलुङ र कुस्मामा कलश यात्रा गरिएको थियो । भजनकृतन र बाजागाजा सहित हजारौं भक्तजनहरुको सहभागितामा मिलनचोकमा कलशयात्रा निकालिएको थियो ।
गौमहोत्सव मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यको अध्यक्षता, सह अध्यक्ष शेरबहादुर केसीको स्वागत र महासचिव जगन्नाथ आचार्यको सञ्चालनमा सम्पन्न उदघाटन कार्यक्रममा डाक्टर जगन्नाथ रेग्मीले कालञ्जर क्षेत्रको महोत्वका बारेमा जानकारी दिनुभएको थियो ।