गलकोट घुम्टे महोत्सवः हेलिकोप्टर मार्फत मनोरम दृश्य हेर्न पाईने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २ २០७६

गलकोट घुम्टे महोत्सव नजिकिंदै गर्दा गलकोट क्षेत्रमा उल्लास बढेको छ । मंसिर ४ देखि ११ गते सम्म हुने महोत्सवमा हेलिकोप्टर मार्फत सयर गर्न पाईने भएपछि उल्लास थपिएको हो ।

महत्वपूर्ण पर्यटकीय स्थल र गलकोटको दृश्याबलोक गर्न आयोजकले हेलिकोप्टरको व्यवस्थापन गर्न लागेका छन् । घुम्टे पर्यटन बिकास केन्द्रले गर्ने महोत्सवमा दृश्याबलोकनका लागि टिकट पनि खुला गरिएको छ ।

हेलिकोप्टरमा घुम्नका लागि ६ हजार रुपैयाँ शुल्क लाग्छ । बढीमा २ सय जनासम्मलाई यो शुल्कमा घुमाउने योजना आयोजकको छ । बढीमा १५ मिनेटमा गलकोटका सबै महत्वपूर्ण क्षेत्र घुमाउने गरी हेलिकोप्टर कंपनीमा सहमति भैसकेको बताइएको छ ।

ढोरपाटन शिकार आरक्ष समेत घुमेर आउने भउ ३५ हजार शुल्क तोकिएको बताइएको छ । २०६३ सालमा पहिलो पटक गरिएको महोत्सवपछि गलकोट क्षेत्रको पहिचान झल्कने अभियानहरु ओझेलमा पर्न थालेको भन्दै दोश्रो महोत्सवको तयारी भएको अध्यक्ष झंकबहादुर बस्नेतले बताए । महोत्सवमा लोपोन्मुख हुन लागेका बस्तुहरुको प्रद्र्धशनी पनि गरिनेछ । बिशेषगरी घरायसी रुपमा प्रयोग हुने ढीकी, जाँतो, ठेकी मदानी, पानी घडी, लिस्नो जस्ता बस्तु प्रर्दशनीमा राखिनेछ ।

त्यस्तै यानीमाया, भैंचे साइला, सिस्नो खोस्ने, सोरठी, नचरी, भजन लगायतका सस्कृति पनि झाँकीको रुपमा देखाइने कार्यक्रम छ । महोत्सवबाट १ करोड ४५ लाख आम्दानी गर्ने, १ करोड खर्च गर्ने र ४५ लाख रुपैयाँ बचाएर गलकोट क्षेत्रको डिपिआर बनाउने योजना पनि छ ।