क्रियाशिल दलहरुको उमेदवारको मनोनयन दर्ता गर्दै

काग्रेस, जनमोर्चा, समाजवादी र विवेकशील पार्टीले उमेदवारी दिने तयारी
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, कार्तिक २१ २០७६

आगामी मंसिर १४ मा हुन लागेको रिक्त प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ ।
निर्वाचन कार्यालयका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।
मनोनय दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा बामगठवन्धनबाट राजमोका खिमबिक्रम शाही, नेपाली कांग्रेसबाट जित शेरचन र समाजवादी पार्टीबाट अशोक बिकले उम्मेदवारी दर्ता गर्ने तयारी छ ।
नेकपाको समर्थनमा उम्मेदवारी दिन लागेका राजमो नेता शाहीको उम्मेदवारी दर्ता गर्नु अघि हल्लनचोक स्थित नेकपा जिल्ला पार्टी कार्यालयमा जम्मा भएर र्याली सहित निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम छ भने नेपाली काँग्रेसले ११ बजे लोकतान्त्रिक चोकमा भेलामा भएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । समाजवादीले पनि पार्टी कार्यालयमा जम्मा भएर उम्मेदवारी दर्तामा जाने बताएको छ ।
निर्वाचन कार्यतालिका अन्तरगत कार्तिक २२ गते शुक्रवार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र २३ गते मनोनयनपत्र र उजुरी उपर जाचबुझ गरिने र सोहि दिन नै उम्मेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ । यस्तै २४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, २५ गते सवै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र मंसिर १४ गते उपनिर्वाचन हुने जनाइएको छ ।
उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश ‘ख’मा ३६ हजार ९ सय २६ मतदाता सहभागि हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख विकासचन्द्र शर्माले जानकारी दिनुभयो । यो क्षेत्रमा उपनिर्वाचनका लागि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा २५ मतदानस्थल रहने जनाइएको छ ।
यस्तै बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ मा रिक्त रहेको वडाअध्यक्ष पदको उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । वडा अध्यक्षमा निर्वाचीत विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमूखमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।