उपनिर्वाचनः बागलुङ क्षेत्र नं. २ ‘ख’ मा राष्ट्रिय जनमोर्चाका शाही उम्मेदवार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, कार्तिक २០ २០७६

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बागलुङमा राष्ट्रिय जनमोर्चाले उमेदवार छनौट गरेको छ । बागलुङ क्षेत्र नम्बर २ ‘ख’ मा प्रदेश सभा सदस्यका लागि खिमबिक्रम शाहीलाई उमेदवार छनौट गरिएको हो ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिले मंगलबारको बैठकबाट शाहीलाई प्रदेशसभा सांसदका लागि उमेदवार बनाउने निर्णय गरेको राजमो जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो ।शाही राष्ट्रिय जनमोर्चाको जिल्ला समिति सदस्य हुनुहुन्छ ।
लामो समय देखि पार्टीमा आवद्ध रहेका शाही २०६० साल भन्दा अघि अखिल नेपाल युवक संघको उपाध्यक्ष रहेका थिए । जिल्ला समितिले भने प्रदेश सांसदका लागि खिमबिक्रम शाही, धर्म कुँवर र सुनमाया घर्तिलाई सिफारिस गरेको थियो ।
बामपन्थी गठबन्धनबाट चुनाव लडेर जित हासिल गर्ने तयारी गरेको भन्दै थापाले यस पटक पनि नेकपाले प्रदेशका लागी समर्थन गरेको र बडिगाड गाउँपालिका–२ को वडा अध्यक्ष पदका लागि नेकपालाई राजमोले समर्थन गर्ने बताउनुभयो । नेकपा र राजमोको केन्द्रिय समितीको संयुक्त बैठकबाट बामगठबन्धन गर्ने निर्णय भएपछि बागलुङमा प्रदेश सांसदका लागि राजमो र वडा अध्यक्ष नेकपाको पक्षमा परेको थियो ।
यस्तै बडिगाड गाउँपालिका–२ को वडा अध्यक्षका लागि नेकपाले ढालेन्द्र शेरचनलाई सर्वसम्मत रुपमा उमेदवार छनौट गरेको छ । नेकपा जिल्ला समितिको बैठकले यही कात्तिक १५ गते शेरचनलाई उमेदवार बनाउने निर्णय गरेको हो । जिल्ला लोकप्रिय नेताका रुपमा चिनिने शेरचनले यस पटकको जित हासिल गर्नका लागि सबैले सहयोग गर्न आग्रह गरेका छन् ।
गण्डकी प्रदेशसभा सदस्य अन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वा्चित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वा्चित भएपछि ती स्थान रिक्त भएका थिए ।
उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९ सय २६ र बडिगाड गाउँपालिका–२ का एक हजार ७ सय ७५ गरी जम्मा ३८ हजार ७ सय १ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।