स्थानीय जातका गाईको संरक्षण गर्न महायज्ञ आयोजना

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक १७ २០७६

लोपोन्मुख स्थानीय जातका गाइको संरक्षणका लागि जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिरमा धनधान्याचल बिराट् ज्ञान महायज्ञ आयोजना गरिएको छ ।
स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा स्थापित गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण, स्थानीय गाइको संरक्षण, गाईको महत्व उजागर गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्यले मंसिर १९ देखि २६ गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।
कालीगण्डकी र लुङदी नदीको दोभानमा आयोजना गरिएको महायज्ञको प्रचारप्रसार, व्यवस्थापन लगायतका तयारी तिब्र रुपमा अघि बढाइएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।
गौशालामा ३५ वटा गाई पालिएको छ । खेतबारी जोत्न गोरुको विकल्पमा उपकरणको प्रयोग बढ्नु, चरनको अभाव र कम दूध दिने भएकाले धार्मिक, सांस्कृतिक, प्रौराणिक र पर्यावरणीय महत्व भएको स्थानीय गाई पाल्ने क्रम घटेको छ ।
हिन्दु समाजमा धार्मिक र सांस्कृतिक कार्यका लागि नभै नहुने जुरो भएका स्थानीय जातका गाईको पर्यावरणीय र जैविकीय महत्व रहेको जानकारी दिदै आचार्यले व्यवसायिक रुपमा लाभ नहुने र खेतबारी जोत्ने ट्याक्टरको प्रयोगसंगै यी गाइहरु लोप हुदै गएकाले संरक्षण थालिएको बताउनुभयो ।
बेनी, बागलुङ र कुश्मामा छाडा छोडीएका गाईलाई गौशालामा लगेर पालिने भएको छ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईको लागि चरण क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।
मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने, गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने उद्देश्य राखिएको छ ।
यसैगरी प्राङगारिक कम्पोष्ट मल उद्योग चलाउने योजना बनाएको महायज्ञ आयोजक समितिका आर्थिक संयोजक डण्डपाणी रिजालले बताउनुभयो । महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचन, गाई पूजा, झाँकी र भजन प्रस्तुत गरिने भएको छ ।
गौशालाको क्षमता बढाएर दुई हजार भन्दा बढी गाई पाल्न सकिने बनाउने उद्देश्यले आयोजित महायज्ञबाट पाँच करोड रुपैयाँ भन्दा बढी जुटाउने लक्ष्य राखिएको छ । कालञ्जर पर्वतको महत्व उजागर गराई जलजला क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गराउने महायज्ञको थप उद्देश्य भएको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो ।
म्याग्दीको भुरुङ तातोपानी देखि पर्वतको पातिचौर सम्मको क्षेत्रलाई विभिन्न धार्मिक ग्रन्थहरुमा जडिवुटीको खानी भएको कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको छ । महायज्ञको तयारीको बारेमा आयोजकले शनिबार मिलचोकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो । प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार तयारीलाई विभिन्न उपसमिति मार्फत अगाडी बढाएको उपाध्यक्ष शिव जिसीले बताउनुभयो ।
गौशालामा टहरा बनाउन यसअघि दुई लाख सहयोग गरेको जलजला गाउँपालिकाले यसपालि गाइको मुत्र प्रशोधन गर्ने उपकरण खरिदका लागि डेढ लाख छुट्टाएको वडा न. ४ का अध्यक्ष भिष्म मल्लले बताउनुभयो । गाइको संरक्षणका लागि नेपालमै पहिलो पटक आयोजना गरिएको महायज्ञको संयोजन जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले गरेको मल्लले बताउनुभयो ।