आन्तरिक पर्यटन प्रवर्द्धनमा होम स्टे प्रभावकारी हुने भएकोले प्रदेश सरकारले समेत प्राथमिकता:मन्त्री गुरुङ

गलकोट स्टोन भिलेजको उद्घाटन
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, असोज २८ २០७६

गलकोट स्टोन भिलेज सामुदायिक होम स्टे को आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका छन । गलकोट नगरपालिका ६ भुजुङ्गे मा औपचारिक रुपमा होम स्टेको मन्त्री गुरुङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आन्तरिक पर्यटन प्रवर्द्धनमा होम स्टे प्रभावकारी हुने भएकोले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताए । गण्डकी प्रदेश सरकारको सहयोगमा २ सय ७३ स्थानमा होम स्टे सुरु भएको उनले जानकारी दिए ।

प्रदेश सरकारको समृद्धिको आधार पर्यटन भएकोले पर्यटकीय गतिविधिमा प्रदेश सरकारको साथ रहने उनले बताए । होटलको सुबिधा नभएको स्थानमा खाना र बासको ब्यबस्थाको लागि होम स्टेको अवधारणा आएको बताउँदै उनले होटल सरह पर्यटकको रुचि अनुसार खाना र बासको ब्यबस्थामा ध्यान दिन अनुरोध गरे । लामो समयसम्म होम स्टेले नथेग्ने भन्दै सुबिधा सम्पन्न होटल ग्रामिन भेगमा स्थापना नहुनेबेला सम्मको लागि विकल्पको रुपमा होम स्टे को अवधारणा अघि सारिएको मन्त्री गुरुङले बताए । होम स्टेमा अरुको नक्क्ल गरेर खानाका परिकार खुवाउने प्रचलन रहेको भन्दै पाहुनाको रुचि र उपलब्ध कृषि उपजको प्रयोग गरेर अघि बढन उनले आग्रह गरे । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दिलमाया रोकाले गाउँ रित्तै हुन लागेको अवस्थामा प्रदेश सरकारको यो अभियानले सहयोग पुग्ने बताइन । बांझा बारिलाई हरियाली बनाइदै पाहुनाको स्वागतबाट आर्थिक उपार्जन गर्न उनले आग्रह गरिन । परिवर्तन र समृद्धिको आधार भएकोले सबै मिलेर उत्पादन संगै जोडिएर होम स्टे संचालन गर्न सकेमा बेरोजगारी समस्याको समेत न्यूनीकरण हुने उनको विश्वास थियो ।
कार्यक्रममा घरवासको वारेमा अवधारणा मनतब्य राख्दै सल्लाहकार यामबहादुर श्रीसले स्लेट ढुङ्गाको खानी रहेको भुजुङगेमा निर्माण गरिने सवै भौतिक पूर्वाधार ढुंगाले निर्माण गर्ने बताए । ‘घर आगन ,गोरेटो बाटो ,पानी धारा सवै ढुङ्गाले निर्माण गरेर स्टोन भिलेजको रुपमा गाँउको विकास गरी पर्यटन आकर्षण गर्ने हाम्रो लक्ष्य हो’ ,उनले भने । १३ देखि १६ औ शताब्दी सम्म भूरे टाकुरे राजाले राज्य गरेको ऐतिहासिक स्थान समेत रहेकोले त्यहा उनिहरुको यथार्थ झल्कने संरचना समेत निर्माण गर्ने उनले जानकारी दिए ।कार्यक्रम गलकोट स्टोन भिलेज सामुदायिक होमस्टेका अध्यक्ष कमला श्रीसको अध्यक्षता तथा पर्यटन ब्यबसायी फरेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।