त्रिपुरेश्वर महादेव मन्दिरको ४३ औ वार्षिकोत्सव तथा रथयात्रा सम्पन्न

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ १३ २០८३

बागलुङ, १३ जेष्ठ – बागलुङको काठेखोला गाउपालिका – ५ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको ४३ औँ वार्षिकोत्सव तथा रथयात्रा मेला विवध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

ब्रम्हलिन स्वामी परमानन्द सरस्वतीको सक्रियतामा भगवान शिवको मूर्ति स्थापना गरिएको दिनको स्मरण स्वरुप वर्षेनी रथयात्रा हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।भगवान शिलको रथलाई भजनकिर्तन, झाँकी सहित बिहुँ मन्दिर परिसरबाट बिहुँको बुढी देउराली ,शान्तिचोक, शिवालय पदमार्ग, हटिया लगायतका स्थानको परिक्रमा गरी पुनः मन्दिर परिसरमा प्रवेश गरेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व सांसद टङ्कप्रसाद शर्मा कंडेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता मेला, पर्व तथा धार्मिक कार्यक्रमहरूले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व वडा अध्यक्ष शिवप्रसाद कडेल, गुठी वन व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रसाद कँडेल र महिला नेतृ ज्ञानकुमारी श्रीष शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका सचिव हरिप्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष थानेश्वर कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्थानीय पत्रकार भरत सापकोटा र प्रेम श्रीसलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर शर्मा सुवेदीको अध्यक्षता, काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेलले स्वागत र सचिव हरिप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।