गण्डकी प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वधार विकास भएको छ – मुख्यमन्त्री

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ ७ २០८३

बागलुङ,जेष्ठ ७– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा उल्लेखनिय फड्को मारेको बताउनु भएको छ ।

बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको दाबी गर्नुभयो ।

प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भएपनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्नेमा उहाँको जोड थियो ।उहाँले हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले सीमित स्रोत र साधनकाबिच जनताको चाहना पूरा गर्न लागेको उहाँको भनाई थियो । जनतालाई स्वास्थ्य, शिक्षा, विद्युतबाट वञ्चित हुन नदिन जनस्तरबाटै योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । यातायात, खानेपानी र उज्यालो गण्डकी कार्यक्रम मार्फत जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापा, भौतिक पूर्वाधार बिकासमन्त्री गोविन्दबहादुर नेपाली, साँसदहरु कृष्णप्रसाद पाठक, चम्पादेवि खड्का, कुशुम बुढा लगायतले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ४ बर्षमा गरेका कार्यका वारेमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा बागलुङ नगरपालिकालाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता भएको घोषणा गरिएको थियो । नगरपालिकाका १४ वटै वडा घोषणा भएपछि नगरपालिकालाई घोषणा गरिएको हो । सो अवसरमा नगर स्वास्थ्य शाखा सहित सवै वडाका स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो । पालिकाका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता तथा स्वागत र प्रशासन शाखा प्रमुख भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो । यस अघि मुख्यमन्त्री पाण्डेले धौलागिरि प्रादेशिक अस्पताल र धौलागिरि आर्युवेद अस्पतालको निरीक्षण गर्नु भएको थियो ।